२०८१ कार्तिक २६ सोमबार
11 November 2024, Monday
Menu
 

सरकारलेनै ढालिदियो विधुवा असाहाय नागरिकको साहारा

काठमाण्डौं – दैलेखको महाबु गाउँपालिका घर भई नयाँ बजारमा व्यवसाय गर्दै आएको भक्तबहादुर राउतको परिवारमा दुई वर्षअघिसम्म राम्रै थियो । व्यवसाय राम्रै चलेको थियो, परिवारमा खुसी थियो । एकाएक भक्तबहादुरलाई क्यान्सर देखापर्यो । सास हुन्जेल आस हुन्छ भनेझैँ परिवारका सदस्यले हरसम्भव प्रयास गरे । तर, गत वर्षको १२ मंसिरमा भक्तबहादुरको मृत्यु भयो । न धन रह्यो, न मान्छे । बाबु बितेपछि विधवा आमा, बहिनी र भाइको जिम्मेवारी कलिला जेठा छोरा सुजनको काँधमा आइपुग्यो ।

लाखौँ ऋणको भारीले थिचिएका सुजन अन्ततः घर छाडेर परदेश जाने निर्णयमा पुगे र दक्षिण कोरिया भाषा परीक्षाको तयारीमा जुटे । लाखौँ ऋण चुक्ता गर्न र लथालिंग बनेको परिवार सम्हाल्न उनले कोरिया सपना सजाएका थिए । त्यसका लागि काठमाडौं आएर कोरिया भाषा परीक्षाको तयारीमा जुटे । प्रारम्भिक परीक्षामा उत्तीर्ण भए, तर त्यसपछिको परीक्षामा सफलता मिलेन ।

पानीजहाज निर्माण गर्ने कम्पनीमा काम गर्नका लागि दिएको परीक्षामा असफल भएकाहरू कृषितर्फको रोजगारीमा जाने अवसरका लागि आवेदन दिन चाहन्थे । तर, सरकारले त्यस्तो व्यवस्था गरिदिएन । देशै भरीबाट काठमाडौं आएर तयारीमा जुटेका सयौँ युवाको सपना टुट्दै गएको थियो । आक्रोशित युवाहरू शुक्रबार बालकुमारीनजिकै रहेको इपिएस शाखा कार्यालयनजिक जम्मा भए । त्यही भिडमा पुगेका थिए २३ वर्षीय सुजन । आक्रोशित भिड अनियन्त्रित हुँदै गयो । तोडफोड र आगजनीमा उत्रियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले मनलाग्दी लाठीचार्ज गर्‍यो । सुजन त्यसको चपेटमा परे । प्रहरीले प्रहार गरेको लाठी छातीमा लागेपछि सुजन सडकमै ढले । अचेत अवस्थामै उनलाई अन्य युवाले एम्बुलेन्स बोलाएर किस्ट मेडिकल कलेज पुर्‍याए । अचेत अवस्थामा रावतलाई किस्ट अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको किस्ट अस्पतालका कार्यकारी अधिकृत अमिष पाठकले बताए। अचेत अवस्थामा रहेका सुजनलाई १२ः४० बजे अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा १ः१७ बजे मृत्यु भएको थियो ।सुजनको परिवारको सपना एकैक्षणमा हावामा विलीन हुन पुग्यो । यता, सुजन ढले,उता विधवा आमाको सहारा । बहिनीले दाइ गुमाइन्, भाइले भरोसा ।
नेपाली मिडिया नेटवर्क
समाचार ब्युरो

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?