२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण नियमित कि नेपाली सत्ता समीकरणमा भारतीय चासो ?

१७ पुष, काठमाण्डौं – भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउन लागेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार विदेश मन्त्री एस जयशंकरको यो नियमित भ्रमण भएको र उनी नेपाल–भारतको बिचमा रहेको संयुक्त आयोगको बैठकमा सहभागी हुन आइरहेको बताएका छन्। नेपालमा भारतीय उच्च अधिकारीको भ्रमण वरिपरि नेपालको सत्तापरिवर्तन भएका दृष्टान्तहरू पनि छन् । अहिले मन्त्री फेरबदल को कुरा प्रधानमन्त्री स्वयंले गरिरहेका छन् भने कांग्रेसको एउटा पंक्तिले सरकारले प्रभावकारी भूमिका खेल्न सकेन जनतामा निराशा बढ्यो यो सरकार परिवर्तन गर्नुपर्छ भनेर आवाज पनि उठाइरहेको छ ।

नेपालको तर्फबाट उनको भ्रमणका लागि लगभग तयारी पुरा भएको बुझिएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँ दुई देशबिच मन्त्रीस्तरीय हुने नियमित बैठकमा आउन लाग्नुभएको छ । त्यो बैठकमा प्रस्तुत हुने एजेन्डाबारे हाम्रो तयारी लगभग पुरा भएको छ ।’

आयोगको बैठकमा प्रस्तुत हुने एजेन्डाबारे परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्ड सँग छलफल गरिसकेका छन् । त्यसै गरी मंगलबार मन्त्रालयमा परराष्ट्र मन्त्रीले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग पनि संयन्त्रको बैठकबारे छलफल गरेका हुन् ।

छलफलका क्रममा उपस्थित अधिकारीहरु सँग भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणको क्रममा कस्ता–कस्ता विषय छलफलमा लैजाने भन्ने बारेमा परराष्ट्र मन्त्री साउदले राय मागेका थिए । जलविद्युत् व्यापार, क्रस बोर्डर कनेक्टिभिटी, रोकिएका कामलाई सुचारु गर्ने लगायतका विषयमा सरोकारवालाहरूले सुझाव दिएका छन् ।

भारतको आफ्नै योजना र लक्ष्य हुन्छ उसले तहीँ अनुरूप छलफललाई अगिबढाउँछ अहिले उसको सबभन्दा बढी चासोमा रहेको अरुण तेस्रो जलविद्युत् आयोजना र पञ्चेश्वर जलविद्युत् आयोजनामा विशेष छलफल हुने स्रोतको दाबी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ‘ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर त्यसको बारेमा गृहकार्य गरिरहेको छ,आयोगको बैठकमा पञ्चेश्वर लगायतको विषयमा छलफल हुने देखिन्छ ।’

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love