२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट : ओली

काठमाडौँ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बिमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको बताएका हुन् । 

अध्यक्ष ओलीले आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आदेश दिएर अधिवेशन रोकेको आरोप लगाए । सत्ता गठबन्धन हार्ने भएपछि प्रधानमन्त्रीले अधिवेशन रोक्न लगाएको ओलीको दाबी छ ।

‘कस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ? डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरूले नै जित्नुपर्ने, उनीहरुकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको । यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानुनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानुनी बेथितिसँग चल्ने सरकार हो,’ ओलीले भने ।

अध्यक्ष ओलीले कुनै पनि स्वतन्त्र संस्थाहरूलाई राम्रोसँग काम गर्न गठबन्धनले नदिएको आरोपसमेत लगाए ।

कान्तिपुर

Spread the love