काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाखमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगले प्रतिनिधिसभामा रिक्त इलाम क्षेत्र नम्बर–२ सहित २५ पदमा उपनिर्वाचनको तयारी गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । उनले उपनिर्वाचन गर्नुपर्ने रिक्त स्थानबारे जानकारी गराएका हुन् । आउँदो वैशाखमा उपनिर्वाचन गर्ने तयारी रहेको थपलियाले बताएका छन् । अर्को साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उपनिर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी छ ।
“अर्को साता सरकारलाई निर्वाचनको मिति प्रस्ताव गर्छौँ,” थपलियाले बाह्रखरीसँग भने, “अहिले यति गते भनेर हामीले भनेका छैनौँ । उपयुक्त दिनमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी छ ।”
आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गर्नुअघि राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
कहाँ–कहाँ रिक्त ?
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिसस प्रमुख दुई, नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक, गाउँपालिकाका उपाध्यक्ष दुई र वडाध्यक्षका १७ पद रिक्त छन् । नेपाली कांग्रेसबाट निर्वाचित १५, नेकपा (एमाले)का पाँच, नेकपा (माओवादी केन्द्र)का चार र स्वतन्त्रबाट जितेका एकजनाको स्थान रिक्त रहेको आयोगले जनाएको छ ।
खालिरहेका संघ देखि स्थानीय सम्मका स्थानहरूको सूची
बाह्रखरी