२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

कांग्रेसभित्र बढेको हिन्दू धर्मको आवाज

कांग्रेसभित्र बढेको हिन्दू धर्मको आवाज

कांग्रेसको औपचारिक बैठकमा यति ठूलो संख्याका नेताहरुले धर्म निरपेक्षता खारेज हुनुपर्ने माग राखेको यो पहिलोपटक हो ।

५ फागुन, काठमाडौं । सनातन हिन्दू राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा छलफल गराइनुपर्ने माग राखेर नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले पूरक प्रस्ताव ल्याएका छन् । शुक्रबार केन्द्रीय मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा शंकर भण्डारीले २२ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पूरक प्रस्ताव राखेका हुन् ।

‘सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक रहेका केन्द्रीय सदस्य भण्डारीले आफ्नो कुरा समेत राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाए । त्यसक्रममा उनले पार्टीको ठूलो हिस्साले उठाउँदै आएको आवाजबारे पार्टी चुप लागेर बस्न नमिल्ने बताएका थिए ।

तर सभापति देउवाले कुनै जवाफ नदिई प्रस्तावपत्र बुझे । ‘सभापतिले केही बोल्नु भएन । तर शंकर भण्डारीले आफ्नो तर्फबाट कुरा राख्नुभएको छ’, केन्द्रीय सदस्य पुष्पा भुसालले भनिन् ।

भुसालका अनुसार, उक्त प्रस्ताव पत्रमा हस्ताक्षर गर्ने मध्ये केहीले नागरिक तहसम्मै पुगेको यो एजेण्डाप्रति पार्टीले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने तर्क गरेका थिए ।

कांग्रेसको औपचारिक बैठकमा यति ठूलो संख्याका नेताहरुले धर्म निरपेक्षता खारेज हुनुपर्ने माग राखेको यो पहिलोपटक हो । ‘यसअघि खुमबहादुर दाइले केन्द्रीय समिति बैठककै माइन्यूटमा आफ्नो राय लेख्नुभएको थियो’ भुसाल भन्छिन्, ‘यसपटक हामीले बुझाएका छौं ।’

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सनातन हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकाले छुट्टै प्रस्ताव ल्याउनुपरेको तर्क प्रस्तावमा उल्लेख गरिएको छ ।

‘..तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरुले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रुपमा वैदिक सनातन हिन्दू धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’, प्रस्ताव पत्रमा भनिएको छ ।

प्रस्तावपत्रमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, धर्म सापेक्ष राष्ट्रका विशेष प्रस्ताव लगिएको बताउँछन् । ‘धर्म सापेक्ष राष्ट्रका लागि यो प्रस्ताव ल्याएका हौं, अरु धेरै कुरा भनिरहनु परेन’, उनी भन्छन् ।

हिन्दू राष्ट्रको वकालत गर्ने कांग्रेस नेताहरुले पार्टी बाहिर पनि गतिविधि बढाएका छन् । भोलि (५ फागुनमा) नयाँ बानेश्वरस्थित बानेश्वर बैंकेटबाट घोषणापत्र नै सार्वजनिक गर्ने तयारी छ । ‘अभियानको औचित्य र हाम्रो अभियानबारे जानकारी दिन घोषापत्र सार्वजनिक कार्यक्रम राखेका हौं’, महाअभियान संयोजक भण्डारीले भने ।

बहुमत जुटाउने उद्देश्य

यो समुहमा रहेका नेताहरुको गतिविधि र महासमिति बैठकमा छलफलको एजेण्डा बनाइनुपर्ने प्रस्ताव आउनुअघि स्वयं सभापति देउवाले पनि धर्म निरपेक्षताबारे छलफल हुनसक्ने बताएका थिए । गत ११ मंसिरमा पूर्वी नवलपरासीको जिल्ला सम्मेलनमा सभापति देउवाले हिन्दू धर्मबारे छलफल गर्न सकिने बताएका थिए । ‘राजा फर्काउने कुरा सोच्न सकिँदैन । तर धर्म निरपेक्षता, संघीयता लगायतका विषयमा छलफल गर्न सकिन्छ’ देउवाले भनेका थिए ।

संभवतः कांग्रेस नेतृत्वले यस्तो अभिव्यक्ति दिएको त्यो पहिलोपटक हो ।

यद्यपि पूर्व महामन्त्री डा.शशांक कोइरालाको निर्वाचन क्षेत्र पर्ने जिल्लाको सम्मेलन भएकाले पनि सभापति देउवाले त्यस्तो अभिव्यक्ति दिएको हुनसक्ने कांग्रेसकै कतिपय नेता बताउँछन् । किनकि पूर्व महामन्त्री कोइराला हिन्दू धर्मबारे जनमत संग्रहको वकालत गर्ने कांग्रेसभित्र शीर्ष नेता हुन् । उनले खुलेर देश धर्म निरपेक्ष हुन नसक्ने भएकाले जनमत संग्रह गरिनुपर्ने बताउँदै आएका छन् ।

तर हिन्दू राष्ट्र महाअभियानका सहसंयोजक लोकेश ढकाल, धर्म निरपेक्ष व्यवस्था परिवर्तन गर्न सभापति देउवाले सकारात्मक भएकैले त्यस्तो अभिव्यक्ति आएको विश्वास गर्छन् । ‘सभापति देउवाले नवलपुरको पार्टी सम्मेलनमा मात्रै होइन, सिंहदरबारमा अरु दलका प्रमुखहरुसँग यसबारे कुरा राख्नुभएको छ’ ढकाल भन्छन्, ‘यी कुरालाई हामीले सभापति सकारात्मक भएकै रुपमा लिएका छौं ।’

सबै हिसाबले सनातन हिन्दू राष्ट्र स्थापना गर्ने अनुकुल वातावरण देखिएको उनको विश्लेषण छ । त्यही विश्लेषणकै कारण पूर्वगृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कको निधनपछि सुस्ताएको हिन्दू राष्ट्र फर्काउने अभियान फेरि बाक्लो बनाइएको छ ।

गतिविधि बढाउनकै निम्ति गत २३ माघमा लक्ष्मण घिमिरेलाई सल्लाहकार बनाएर शंकर भण्डारी संयोजक बनेका थिए । संयोजक बनेपछि भण्डारीले पार्टीभित्र हिन्दू राष्ट्रको पक्षमा रहेका नेताहरुलाई समेट्नेगरी गतिविधि बढाएका छन् ।

अभियानको शुक्रबार बसेको बैठकले विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली र पूर्व सांसद् एवं कांग्रेस केन्द्रीय सदस्य मुक्ताकुमारी यादवलाई महासचिव मनोनयन गरेको छ । यो बैठकले सल्लाहकार र केन्द्रीय समितिमा थप नेताहरु समेत मनोनयन गरेको छ ।

यसअघि २८ माघको बैठकबाट देवेन्द्रराज कँडेल र लोकेश ढकाल सह–संयोजक मनोनयन भएका थिए । २ फागुनको बैठकबाट भरतराज पौडेल र मञ्चित ताम्राकार सचिव मनोनित भए ।

यसअघि अभियानको संयोजक रहेका लक्ष्मण घिमिरे, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री बिपिन कोइराला, नेताहरु पुष्पा भुसाल, दीपकुमार उपाध्याय लगायत समेटेर सल्लाहकार परिषद् बनाइएको थियो ।

कांग्रेसभित्र हिन्दू धर्मको एजेण्डा भने खुमबहादुर खड्काले अगाडि बढाएका थिए । ४ जेठ २०६३ मा अन्तरिम व्यवस्थापिकाबाट जारी भएको अन्तरिम संविधानमा मुलुक धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख भएपछि खड्काले लगातार असहमति जनाएका थिए । तर पार्टीका तत्कालीन नेतृत्वमा रहेका गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्मले खड्काको माग सुनुवाइ गरेनन् । पार्टी बैठक र सार्वजनिक मञ्चहरुमा खड्काले धर्मनिरपेक्ष राज्यप्रति असन्तुष्टि जनाइरहे ।

२६–२९ चैत २०६९ मा सम्पन्न नवलपरासीस्थित त्रिवेणीको महासमिति बैठकमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन गरेर सनातन हिन्दू सापेक्ष राष्ट्रको माग भयो । तर महासमिति बैठकको एजेण्डा भने बन्न सकेन । यसपछि २०७१ मा खड्का संयोजक र लक्ष्मण घिमिरे सह–संयोजक रहेर ‘सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान’ बन्यो । राजधानी उपत्यकासहित देशभर पार्टी कार्यकर्ता सामेल गराएर अभियान चलाइयो ।

तर कांग्रेसकै नेतृत्वमा ३ असोज २०७२ मा संविधान जारी हुँदा अन्तरिम संविधानमै लेखिएको धर्म निरपेक्ष राज्य समावेश भयो । कांग्रेस पृष्ठभूमिकै रामवरण यादवले राष्ट्रपतिको हैसियतमा संविधान प्रमाणीकरण गर्दा सुशील कोइराला प्रधानमन्त्री थिए । मधेश केन्द्रित बाहेक अरु सबै दलका सभासदले हस्ताक्षर गरेका थिए । यसरी जारी संविधानमा नेपाल ‘स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्र राज्य’ भएको परिभाषा गरिएको छ ।

यद्यपि राजावादी एवं हिन्दूवादी शक्ति राप्रपा नेपालले लिएको अडानका कारण धर्म निरपेक्षबारे संविधानमा प्रष्टीकरण लेखिएको छ । ‘यस धाराको प्रयोजनका लागि “धर्म निरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’, प्रष्टीकरणमा भनिएको छ ।

तर खड्का नेतृत्वको यो अभियानले संविधानको यस्तो प्रष्टीकरणप्रति चित्त बुझाएनन् । उनी जिवित रहँदासम्म धर्म सापेक्ष मुलुककै अडान रहे । १६ चैत २०७४ मा खड्काको निधन भएपछि भने यो अभियान निष्कृय रह्यो । यद्यपि सह–संयोजक घिमिरेलाई नै संयोजक जिम्मेवारी दिइएको थियो ।

अहिले फेरि भण्डारीको अगुवाइमा अभियान सकृय बनाइएको छ । उनकै अगुवाइमा दुई वर्षअघि (२४–२८ मंसिर २०७८ मा) सम्पन्न महासमिति बैठकमा ७१९ जना महासमिति सदस्यहरुले हस्ताक्षर गरे । ‘महासमितिका त्यति धेरै सदस्यले राखेको मागलाई छलफलको विषय नबनाइनु दुर्भाग्य बन्यो’ महाअभियानका सह–संयोजक ढकाल भन्छन्, ‘यसपटक हामी बहुमत जुटाएर देखाउँछौं, त्यस्तो अवस्थामा हिन्दू सापेक्ष राज्य पार्टीको एजेण्डा निर्णय हुनेछ ।’

यो अभियानमा लागेका कांग्रेस नेताहरुमा देखिएको उत्साहलाई कतिपयले भने दक्षिण छिमेक भारतको चुनावसँग जोड्ने गरेको देखिन्छ । भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (बीजेपी)ले हिन्दू धर्मलाई राजनीतिक एजेण्डा बनाउँदै आएको छ ।

मुलुकभित्र हिन्दू धर्म र राजसंस्था एजेण्डा मान्ने राप्रपाको आकार बढिरहेको अनि पूर्वराजा ज्ञानेन्द्र शाह निरन्तर सार्वजनिक कार्यक्रमा देखिन थालेका पनि कांग्रेसभित्र उठेको धर्मको आवाजलाई चासोका साथ हेरिएको छ । तर महाअभियानका सह–संयोजक ढकाल भने पार्टीभित्र उठेको धर्म सापेक्ष राज्यको आवाजमा कसैको प्रभाव नरहेको बताउँछन् ।

‘हामीले सनातन हिन्दू सापेक्ष राज्यको एजेण्डा उठाउँदा भारतमा बीजेपी संस्थापन थिएन । बीजेपी धेरैपछि संस्थापन बनेको हो’ उनी भन्छन्, ‘हिन्दू सापेक्ष राज्यको एजेण्डा धेरै पुरानो हो र मौलिका हो । ०४७ सालको संविधानमै पनि थियो ।’

सनातन हिन्दू धर्मको एजण्डा देश भन्दामाथि भएको उनको तर्क छ । ‘देशलाई एउटै सूत्रमा बाध्ने प्रतीकका रुपमा रहेको धर्मलाई लिएर धेरै आशंका गरिन हुन्न’, ढकाल भन्छन् । अनलाइन खबर

शंकर भण्डारीको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

Spread the love