२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

आगामी वैशाख १५ मा इलाम -२ मा उपनिर्वाचन हुँदै

आगामी वैशाख १५ मा इलाम -२ मा उपनिर्वाचन हुँदै

फागुन १३,काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ । पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आयोगको आइतबार बसेको बैठकले वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो । 

आयोगले सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा पनि त्यही दिन उपनिर्वाचन गराउने निर्णय गरेको छ । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचिन भएका थिए भने बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचिन भएका थिए । 

सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो । यस्तै, नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो । 

“निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,” निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ । 

नेपालको संविधानको धारा ८४ (७) तथा धारा २७६ (८) बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ । 

समाचार ब्युरो

नेपाली मिडिया नेटवर्क

 

Spread the love