काठमाडौं । पेनाल्टी सुटआउटमा नेपाललाई ५–३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो । जहाँ जोर्डनले बाजी मार्यो ।
जोर्डनबाट पेनाल्टी प्रहारका लागि आएका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले गोल गरे ।
नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गर्दा अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाइन् ।
त्यसअघि सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् ।
पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन । ७४औँ मिनेटमा जोर्डनकी लाना फेरसले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएकी थिइन् ।
८९औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन् । तर, इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई पुन: २–२ को बराबरीमा फर्काएकी थिइन् ।
प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।
प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । जोर्डनले योसहित छैटौँपटक प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाली महिला टिमले खेलेको यो ११औँ फाइनल हो । नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन ।
नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो । बाह्रखरी