पिङ्गलास्थानस्थित माइती नेपाल प्रधान कार्यालयबाट बिहान सुरु भएको पैदलयात्राको उदघाटन कार्यक्रममा काठमाडौँ महानगरपालिका-९ का अध्यक्ष रामजी भण्डारी, वडा १० का अध्यक्ष रामकुमार केसी, गौशाला प्रहरीका प्रमुख, माइती नेपालका संस्थापक अध्यक्ष कोइराला, कार्यकारी निर्देशक खड्कालगायत विभिन्न सङ्घसंस्थाका व्यक्तिको उपस्थिति थियो । पैदलयात्रा त्रिभुवन विमानस्थल, सिनामङ्गल, पुरानो बानेश्वर, गौशाला हुँदै सम्पन्न गरिएको थियो । मानव बेचबिखन रोकथाम, उद्दार र पुनःस्थापनामा माइती नेपालले गरिरहेको प्रयासका लागि जनचेतना जगाउने कार्यमा सहभागीहरूले एकता र ऐक्यबद्धता जनाउनुभएको थियो ।
माइती नेपालले सन् २०२३ मा महिला र बालबालिका बेचबिखन तथा विभिन्न प्रकारका शोषण र हिंसाविरुद्धको आफ्नो अथक प्रयासलाई निरन्तरता दिएको जनाएको छ । माइती नेपाल मानव बेचबिखनविरुद्ध लड्न, पीडितको उद्दार र पुनःस्थापना, सचेतना जगाउने र यो जघन्य अपराध रोक्न आमजनमानसलाई सशक्तीकरण गर्ने कार्यमा समर्पित गैरनाफामूलक संस्था हो । सन् १९९३ मा स्थापना भएको माइती नेपाल मानव बेचबिखन, बालबालिकाको व्यावसायिक यौनशोषण र घरेलु हिंसाबाट प्रभावित असङ्ख्य व्यक्तिका लागि आशाको किरण बनेको छ । रासस