पाटन (ललितपुर), वैशाख २७ गते । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बिच शौचालयको शुभारम्भ गर्नुभयो ।
त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरु सफा र आपङगतामैत्री बनाउँदै लगेको बताउनुभयो । “शौचालय भन्नेबित्तिकै फोहर र गन्हाउँछ भन्ने आमधारणा छ । त्यो धारण बदल्न महानगरले शौचालय सुधारमा जोड दिएको छ । शौचालयको सहजरुपमा प्रयोग गर्ने गरी सफासुग्घर राख्ने हाम्रो योजना छ । सोहीअनुसार हाल शौचालय निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो ।
असल अभ्यासहरु अवलोकन गर्ने क्रममा करिब डेढ वर्षअघि बङ्गलादेश पुग्दा शौचालय पनि त्यति धेरै सफा र राम्रा हुँदा रहेछन् भन्ने थाहा पाएपछि महानगरका सबै वडामा त्यस्तै सुविधा सम्पन्न शौचालय बनाउने गरी योजना अगाडि बढाएको उहाँको भनाइ छ । महानगरपालिकाले लगनखेलमा पनि जावलाखेल, मङ्गलबजार र पाटनढोकामा जस्तै अत्याधुनिक शौचालय बनाउने तयारी गरिरहेको छ ।
लगनखेलनमा अत्याधुनिक शौचालय निर्माणका लागि डिपिआर भइरहेको नगरप्रमुख महर्जनले जानकारी दिनुभयो । महानगर वडा नम्बर ४ का अध्यक्ष सन्तोष खड्काले जनघनत्वको अत्याधिक चाप भएका ठाउँमा सार्वजनिक शौचालय निर्माण हुँदा धेरै नागरिकहरु लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो वडामा सदर चिडियाखाना छ । यहाँ भ्रमणमा आउनेहरुका लागि शौचालयको धेरै समस्या पर्नेगरेको छ । त्यसैलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको यो सार्वजनिक शौचालयले थोरै भए पनि समस्या गर्न सघाउ पुग्ने छ ।”
कार्यक्रममा सामाजिक संस्था एरोशानका अध्यक्ष सोनी श्रेष्ठले शौचालय निर्माण र शुभारम्भले मात्रै नहुने भन्दै त्यसको दीर्घकालीन व्यवस्थानमा ध्यानदिनुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटर एडका राष्ट्रिय निर्देशक सुदर्शन न्यौपानले खानेपानी, सरसफाइ र स्वच्छतालाई संस्थाले प्राथमिकतामा राखेर काम गरिरहेको र शौचालयको दिगो व्यवस्थापनका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । ललितपुर महानगरले एक वडा एक सार्वजनिक शौचालयको नीतिअनुसार हाल महानगरका वडा नम्बर ८, ९, २, १०, २४, २५ र २७ मा शौचालय निर्माणका काम भइरहेका छन् । रासस