२०८१ आश्विन २५ शुक्रबार
11 October 2024, Friday
Menu
 

पश्चिम क्षेत्रको राडार दुई वर्षदेखि कामविहीन

पश्चिम क्षेत्रको राडार दुई वर्षदेखि कामविहीन

काँक्रेविहार (सुर्खेत), जेठ २५ गते । वि.सं.२०७६ मङ्सिर १७ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ को रातानाङ्लामा स्थापना भएको मौसमी राडार दुई वर्षदेखि बन्द छ । पश्चिमी क्षेत्रको मौसमसम्बन्धी पूर्वानुमान गर्न राखिएको उक्त राडार दुई वर्षदेखि कामविहीन भएको हो ।

राडारमा समस्या भएर कामविहीन अवस्थामा बन्द भएको दुई वर्ष बितिसक्दा पनि मर्मत गरी सञ्चालनमा आउन सकेको छैन । बाह्र महिना हुनसक्ने विपद्बाट जोगाउन स्थापना गरिएको मौसम पूर्वानुमान गर्ने राडार आफैँ बिरामी भएपछि समस्या भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् एवम् जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका प्रमुख निराजन सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार एक दिनको मौसम पूर्वानुमानसहितको तत्काल सूचना दिने यस्ता राडार नेपालमा तीनवटा मात्र छन् । “सुर्खेतको राडारले प्युठानदेखि पश्चिम क्षेत्रको पूर्वानुमान गर्दछ । अरु दुई वटा राडार पाल्पा र उदयपुरमा छन्”, उहाँले भन्नुभयो । चट्याङ परेर राडारका केही उपकरण बिग्रनुका साथै जेनेरेटरमा पनि क्षति पुगेको थियो । विभागका वरिष्ठ मौसमविद् सापकोटाले सरकारले मर्मतका लागि न्यून बजेट दिएको भन्दै परामर्शदातासँग प्रस्ताव माग गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार स्थानीयस्तरमा हुने अन्य मर्मतको काम सुरु भएको छ । दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको वरिष्ठ मौसमविद् सापकोटाले बताउनुभयो । अहिले मर्मत गर्ने तयारी थालिएको उहाँको भनाइ छ । विभागले आगामी भदौ अन्तिमसम्म राडार सञ्चालनमा ल्याउने गरी मर्मत गरिरहेको आयोजना प्रमुख सापकोटाले दाबी गर्नुभयो । उहाँका अनुसार उक्त मौसमी राडार विश्व बैंकले करिब १८ करोडको लागतमा निर्माण गरिदिएको हो ।

निर्माणको पाँच वर्षसम्म राडारले काम गरिरहेको थियो । पाँच वर्षभित्र बिग्रेमा निर्माण कम्पनीले बेहोर्नुपर्ने प्रावधान रहेकामा छैटौँ वर्षमा चट्याङ परेपछि बन्द भएको उहाँले बताउनुभयो । बजेटको अभाव, मर्मतका लागि दक्ष जनशक्ति नहुनु, सुर्खेतको विद्युत कम क्षमता (लो भोल्टेज), बेला बेलामा चट्याङ परिरहनु, इन्धन खर्च अभावलगायत कारणले बिग्रेको राडार समयमै मर्मत गर्न नसकिएको विभागले जनाएको छ । रासस

Spread the love
Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?