२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

रुसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

रुसमा आतङ्कवादी आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु

मस्को, असार १० गते । दक्षिणी रुसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।

दुई अर्थोडक्स चर्च, धार्मिक सभाघर र तटीय सहर डर्बेन्ट र दागेस्तानको राजधानी मखचकलाको ट्राफिक प्रहरी चौकीमा भएको सशस्त्र झडपमा मानवीय क्षति भएको हो ।

दागेस्तान गणतन्त्रका प्रमुख सर्गेई मेलिकोभले स्थिति नियन्त्रणमा आइसकेको बताउनुभएको छ । उहाँका अनुसार डर्बेन्टसिथ्त सभा घरमा आक्रमणको क्रममा लगाइएको आगो पूर्ण रूपमा निभाइएको छ ।

सशस्त्र आक्रमणमा संलग्न छ जना सशस्त्र व्यक्ति मारिएको मेलिकोभले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा उल्लेख छ । ‘आतङ्कवादी’ आक्रमणमा संलग्न समूहलाई पक्राउ गर्न कानुन प्रवर्तन अधिकारीलाई खटाइसकिएको उहाँले बताउनुभयो ।

उत्तरी ककेशियन क्षेत्रमा अवस्थित दागेस्तान देशको सबैभन्दा भाषिक र जातीय विविधता भएको क्षेत्रमध्ये एक हो ।

आक्रमणपछि रुसको यहुदी समुदाय महासङ्घका अध्यक्ष अलेक्ज्यान्डर बोरोडाले दागेस्तानमा भएको आक्रमणपछि आउनसक्ने सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि उक्साहटमा नलाग्न स्थानीयलाई आग्रह गर्नुभएको छ ।

स्थानीय अधिकारीका अनुसार मखचकला र डरबेन्टमा हुने सबै मनोरञ्जन कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि रद्द गरिएको छ ।

सरकारी तथ्याङ्क अनुसार मार्च २२ मा मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतङ्कवादी आक्रमण र आगजनीमा कम्तीमा १४४ जनाको मृत्यु हुनुका साथै ५५१ जना घाइते भएका थिए । रासस/सिन्ह्वा

Spread the love