काठमाण्डौं । गत वर्षको अक्टोबरमा इजरेल- हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको नयाँ नेपाली कामदारहरूलाई इजरेल पठाउने प्रक्रिया पुन: सुरु गरिएको नेपाली अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार नेपाल र इजरेलबीच भएको सरकार-सरकारबीचको सम्झौता (जीटूजी) मार्फत् नयाँ कामदार पठाउने प्रक्रिया फेरि सुरु भएको हो।
गत वर्ष अक्टोबर ७ मा भएको हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। इजरेली कारबाहीका कारण त्यहाँ अहिले पनि युद्धको स्थिति छ।
हमासको हमलामा परेर ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ।
त्यसयता नयाँ कामदार पठाउने प्रक्रिया अवरुद्ध थियो। ‘लर्न एन्ड अर्न’ कार्यक्रममा नेपाली विद्यार्थीलाई पठाउन अझै अझै खुलेको छैन।
वैदेशिक रोजगार मामिलाका विज्ञहरू भने इजरेल नेपाली कामदारका लागि अझै पनि सुरक्षित स्थान हो भन्ने सुनिश्चित नभएकाले सरकारले हतारमा निर्णय गरेको बताउँछन्।
कामदार माग भएको क्षेत्र
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार ‘स्याहार क्षेत्र’ अर्थात् ‘केअरगिभर’का रूपमा नेपालीहरूलाई पठाउन लागिएको हो।
नेपालले वर्षौँदेखि इजरेलमा केअरगिभरका रूपमा कामदारहरू पठाउँदै आएको छ। युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो।
यद्यपि यसबीचमा गत वर्ष नै भाषा तथा दक्षतालगायतका परीक्षणहरू पूरा गरेका केही नेपाली कामदारलाई सरकारले इजरेल जान अनुमति दिएको थियो।
त्यस्तै विभिन्न कारणले नेपाल फर्केर पुन: श्रम स्वीकृति लिएर जानेहरूले पनि अनुमति पाएका थिए। तर ‘जीटूजी’अन्तर्गत नयाँ कामदारलाई इजरेल पठाइएको थिएन।
रिजालले भने, “इजरेल सरकारले केअरगिभरका रूपमा काम गर्ने कामदार चाहियो भनेर माग गरेको थियो। हामीले त्यसैअनुसार सूचना निकालेका छौँ। यो नयाँ कामदारका लागि आएको माग हो।”
“पहिले विशेष गरी नेपालीहरू त्यहाँका ज्येष्ठ नागरिकहरूको स्याहारका लागि जाने गरेकामा यस पटक केअरगिभर भए पनि नयाँ क्षेत्रबाट माग आएको छ।”
उनले दिएको जानकारीअनुसार यो पटक इजरेलले दीर्घकालीन स्याहारकेन्द्रमा सहायक कामदारको रूपमा नेपालीहरूलाई लिन चाहेको छ।
त्यस्ता केन्द्रमा बालबालिका, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग भएको हो।
कति कामदार जान पाउँछन्
कामदार माग भएपछि सरकारले मङ्गलवार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको उक्त सूचनाअनुसार कुल ८०० नेपाली कामदारको माग भएकोमा ५०० जना मुख्य उम्मेदवारका रूपमा रहने छन्।
थप ३०० जना वैकल्पिक उम्मेदवारका रूपमा रहने सूचनामा उल्लेख गरिएको छ। इजरेल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने छन्। उनीहरूलाई सकेसम्म चाँडै इजरेल पठाइने रिजालले बताए। उनले भने, “आवेदन कति पर्छ त्यसले पनि निर्धारण गर्छ। परीक्षणका लागि पनि समय लाग्न सक्छ। हामीले जतिसक्दो छिटो गरेर पठाउन भनेका छौँ।”
न्यूनतम योग्यता के हो
इजरेल जान चाहने नेपाली कामदारका लागि विभिन्न खाले न्यूनतम योग्यताहरू तोकिएका छन्।
ती यस्ता छन्:
१. २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने
२. कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने
३. कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमि (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केअरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने
४. भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने
५. विगतमा इजरेलमा गएर काम नगरेको हुनुपर्ने
६. बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने
७. मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने।
सेवासुविधा कस्तो छ
कृषि क्षेत्रमा नेपाली विद्यार्थी पठाउनेबारे छलफल जारी रहेको अधिकारीहरू बताउँछन्
सरकारी सूचनामा जनाइएअनुसार इजरेल जाने कामदारले त्यहाँको नियमानुसार साताको छ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ। त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरेलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने छन्।
नेपाली कामदारले आफ्नो खाना र आवासको खर्च आफैँले बेहोर्नुपर्ने हुन्छ। यद्यपि त्यहाँका रोजगारदाताले विदेशी कामदारका लागि आफैँले आवासको व्यवस्था गरिदिएका हुन सक्छन्। त्यस्तोमा पनि आवासको भाडा तिर्नुपर्ने हुन्छ।
सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने सूचनामा उल्लेख गरिएको छ। नेपाली कामदारले मासिक तलब नेपाली मुद्रामा झन्डै दुई लाख रुपैयाँभन्दा केही बढी हुने अधिकारीहरूले बताएका छन्।
अन्तिम चरणमा छनोट भएर इजरेल जान पाउने नेपाली कामदारहरूले केही निश्चित खर्च भने आफैँले बेहोर्नुपर्ने हुन्छ।
त्यस्ता खर्चमा इजरेलसम्म जाने एकतर्फी हवाई भाडा, स्वास्थ्य बीमा, पूर्वप्रस्थान अभिमुखीकरण, राहदानी, स्वास्थ्य परीक्षण, अङ्ग्रेजी भाषा परीक्षण, कोभिड परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषका गर्नुपर्ने योगदान र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकमलगायत छन्।
छनोट कसरी गरिन्छ
अधिकारीहरूले दिएको जानकारीअनुसार वैदेशिक रोजगार विभागको अन्लाइन प्रणालीमार्फत् रित पुर्याएर निवेदन दिनेहरूलाई पहिलो चरणमा छनोट गरिने छ।
त्यसपछि उक्त सूची इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएमा पठाइने छ।विभागले जारी गरेको सूचनामा पीआईबीएमा पठाइएपछिको प्रक्रियाबारे पनि उल्लेख छ।
त्यसमा भनिएको छ, “जाँचबुझपछि सफल भएका उम्मेदवारहरूको सूची विभागको वेबसाइटमा प्रकाशन गरिने छ। सो सूचीमा पर्न सफल सम्पूर्ण उम्मेदवारहरूले इजरेल सरकारद्वारा सूचीकरण गरिएका स्वास्थ्य संस्थाबाट तोकिएबमोजिमको मेडिकल चेकजाँच गर्नुपर्ने छ।”
त्यसपछि छनोट समितिले बढीमा १,५०० जनाको योग्यताक्रमको सूचीको अन्तिम ‘रोस्टर’ तयार पारेर पीआईबीएलाई उपलब्ध गराउने छ।
पीआईबीएले अन्तिम रोस्टरमा भएका झन्डै ७५ प्रतिशत ‘इम्प्लिमेन्टेशन प्रोटोकल’बमोजिम कामदारहरूको छनोट गोलाप्रथाबाट गर्ने छ।
“छनोट गरिएका कामदारहरूको रोजगार सम्झौता हस्ताक्षरका लागि पीबाईबीएले विभागमा उपलब्ध गराउने छ,” उक्त सूचनामा भनिएको छ। त्यसरी रोजगार सम्झौता भएर भिसा पाएका कामदारलाई विभागले श्रम स्वीकृति प्रदान गर्ने छ।
पूर्वसर्त के हुन्
इजरेल जानका लागि छनोट भएका कामदारहरूले केही पूर्वसर्त पनि पूरा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। कामदारहरूले आवश्यक परेमा इजरेल जानुअघि ७२ घण्टाअगाडि आफ्नै खर्चमा कोभिडको परीक्षण गराएर सङ्क्रमण नभएको पुष्टि गर्नुपर्ने हुन्छ।
उनीहरूले इजरेल प्रवेश गरेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले तोकेअनुसार आवश्यक खोप लिनुपर्ने र खोप लिन अस्वीकार गर्न नपाइने पूर्वसर्त छ।
त्यस्तै उनीहरूले वैदेशिक रोजगार विभागले तोकेबमोजिमको समयमा इजरेल सरकारले तोकेको ढाँचामा द्विपक्षीय श्रम सम्झौताबमोजिम सूचीकृत स्वास्थ्यसंस्थाबाट स्वास्थ्यपरीक्षण गराएको प्रमाणपत्र पेस गर्नुपर्छ।
कामदारहरूले इजरेलमा सम्झौतामा उल्लेख भएकाबाहेकका अन्य क्षेत्रमा काम गर्न पाउने छैनन्। त्यस्तै उनीहरूले इजरेल जानुअघि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीबाट पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्नेछ।
यो पटक केअरगिभरको रूपमा इजरेल जानका लागि हीब्रू भाषा सिक्नुपर्दैन तर अङ्ग्रेजी भाषा भने जानेको हुनुपर्छ।
रिजालले भने, “अङ्ग्रेजी भाषा पनि धेरै एड्भान्स्ड खालको चाहिने होइन। ब्रिटिश काउन्सिलले भन्ने गरेको एटू लेभलको भए पुग्छ।”
इजरेल किन सुरक्षित गन्तव्य होइन?
हमासको हमलामा नेपाली विद्यार्थीहरूको पनि ज्यान गएपछि कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत गएका नेपाली विद्यार्थीहरूलाई फिर्ता ल्याइएको थियो
सरकारले कामदारहरू पठाउनका लागि सूचना जारी गरे पनि कतिपय वैदेशिक रोजगार मामिलाका विज्ञहरू नेपालले इजरेलमा नयाँ कामदारहरू पठाउन हतार गरेको ठान्छन्।
त्यस्तैमध्येका एक श्रम आप्रवासन मामिलाका विज्ञ गणेश गुरुङ भन्छन्, “नेपालमा रोजगारी नै नपाएको अवस्थामा मान्छेहरू जान त तयार नै हुन्छन्। यहाँ बसेर कमाउन सकिँदैन बरु त्यहाँ गए मरिहालिन्नँ होला भन्ने हुन्छ। तर यसमा सरकारले विचार गर्नुपर्ने हो।” उनले सरकारको दायित्व भनेको आफ्ना नागरिकहरूलाई सबैभन्दा सुरक्षित श्रमगन्तव्यमा मात्र पठाउनु रहेको स्मरण गराउँछन्।
उनले भने, “हुन त अहिले सरकारले जहाँ पठाउने हो त्यहाँ सुरक्षित छ भन्छ। तर त्यो स्थानमा भोलि हमासले गरे जस्तै आक्रमण हुँदैन भन्ने ग्यारेन्टी के छ? हामीले हमासको कब्जामा रहेको भनेको एकजना आफ्नै नागरिक त पत्ता लगाउन सकेका छैनौँ भने सुरक्षित छ भन्नुको कुनै अर्थ छैन।”
उनले आगामी दिनमा परिस्थिति जटिल बनेमा फेरि सरकारले नै उद्धार गर्नुपर्ने अवस्था आउने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। गुरुङले भने, “इजरेल बाध्यकारी र विकल्प नै नभएको गन्तव्य होइन। जुन क्षमता र सीप भएका मानिसहरूलाई त्यहाँ पठाउन लागिएको छ त्यस्ता मानिसहरूले अन्यत्र पनि सहजै रोजगारी पाउने अवस्था छ। सरकारले त्यसतर्फ पो ध्यान दिनुपर्थ्यो।”
कृषि क्षेत्रबारे छलफल जारी
हमासको हमलामा नेपाली विद्यार्थीहरूको पनि ज्यान गएपछि कृषि क्षेत्रमा नेपालीलाई पठाउने प्रक्रिया रोकिएको थियो। त्यो फेरि खुलाउने कि नखुलाउने भन्ने विषयमा अहिले दुई देशबीच छलफल जारी रहेको नेपाली श्रम अधिकारीहरूले बताएका छन्।
केही अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत् कृषि क्षेत्रमा कामदार पठाउनेबारे अध्ययन गर्न एउटा पुनरवलोकन समिति समेत बनाएको थियो।
यद्यपि कृषि क्षेत्रमा नेपालीहरूलाई पठाउनेबारे मन्त्रालय टुङ्गोमा नपुगेको त्यसका संयोजक पनि रहेका श्रम मन्त्रालयका प्रवक्ता रिजालले बताए।
यद्यपि केहीअघि कतिपय व्यवसायी र व्यक्तिहरूले “ठूलो रकम असुलेर” कृषि क्षेत्रमा कामदार पठाउने भन्दै ठगी गरेको आशयको मौखिक उजुरी वैदेशिक रोजगार विभागमा परेको जानकारी अधिकारीहरूले दिएका छन्। त्यसपछि विभागले एउटा सूचना जारी गर्दै “त्यस्तो प्रलोभनमा नपर्न” भन्दै एउटा सूचना जारी गरेको थियो।
युद्ध सुरु भएपछि कति नेपाली गए
गत अक्टोबर ७ तदनुसार असोज २० गते इजरेलमा हमासले आक्रमण गरेको थियो। त्यसपछि पनि नेपाली कामदारहरू इजरेल जाने क्रम रोकिएको भने छैन। त्यसरी जानेमा पहिलेदेखि नै इजरेलमा कार्यरत कामदारहरू धेरै छन्।
नेपाल आएका कामदारहरूले पुन: श्रम स्वीकृति लिएर इजरेल गएको वैदेशिक रोजगार विभागको विवरणले देखाउँछ।
विभागले सार्वजनिक गरेको विवरणानुसार गएको असोजदेखि जेठ सम्ममा ८२७ नेपालीले इजरेल जानका लागि श्रमस्वीकृति वा पुन: श्रमस्वीकृति लिएका छन्।
इजरेलमा हमासले गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीबारे जानकारी सार्वजनिक गरेको थियो।
त्यस बेला मन्त्रालयले दिएको जानकारीअनुसार इजरेलमा ४,५०० नेपालीहरू ‘केअरगिभर’को रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएकामा हमासको आक्रमणपछि सरकारले २५० जनाभन्दा बढीलाई उद्धार गरेर ल्याएको थियो।
यद्यपि कतिपय नेपालीहरू इजरेलमा रोजगारीको समय सकिएपछि पनि विभिन्न तरिकाबाट बसेर काम गरिरहेको त्यहाँस्थित नेपालीहरू बताएँछन्। त्यस्ता नेपालीको सङ्ख्या पनि उल्लेख्य रहेको बताइन्छ। बिबिसी नेपाली