२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन

रहस्यमय मृत्युलाई लिएर कराँचीमा उच्च सतर्कता अवलम्बन

कराँची (पाकिस्तान), असार १२ गते । पाकिस्तानको कराँचीको नगरका विभिन्न क्षेत्रमा फेला परेका अज्ञात शवहरूको सङ्ख्या २२ पुगेपछि रहस्यमय र चिन्ताजनक प्रवृत्तिलाई नियन्त्रण गर्न नगर प्रशासन जुटेको बुधबार जियो न्युजले जनाएको छ ।

मङ्गलबार थप पाँचवटा नयाँ शवहरू फेला परेपछि रहस्यमय मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

पाकिस्तानको गैरनाफामुलक कल्याणकारी संस्था छिपा वेलफेयर एसोसिएसनका अनुसार पछिल्लो समयमा मृत्यु भएकामध्ये तीन जना लागुऔषध दुर्व्यसनमा फसेका देखिन्छन् ।

छिपा वेलफेयर एसोसिएसनका प्रवक्ताले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “कराँचीका विभिन्न क्षेत्रमा स्वयंसेवकले थप पाँच जनाको शव फेला पारेको छ । तीमध्ये तीन जना लागुऔषध दुर्व्यसनी जस्तो देखिन्छन्, तर अहिलेसम्म एउटा पनि शव पहिचान भएको छैन ।”

जिओ न्युजका अनुसार महानगरमा एम्बुलेन्सको सञ्जाल सञ्चालन गर्ने गैरसरकारी संस्थाले आज पहिचान नखुलेका शवको सङ्ख्या २२ पुगेको पुष्टि गरेको छ ।

मृतकका आफन्त कोही पनि शव लिन नआएकाले झण्डै दुई दर्जन शव अझै बेवारिसे अवस्थामा रहेको जनाइएको छ ।

कराँचीमा जारी गर्मीका कारण ठुलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएका र उनीहरूमध्ये धेरैलाई गर्मीका कारण विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।

कराँचीका विभिन्न क्षेत्रमा एक दर्जनभन्दा बढी अज्ञात व्यक्ति मृत फेला परेको र उनीहरू लागुऔषधको प्रभावमा परेका र अत्यधिक गर्मीका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानपछि अनुमान गरिएको कराँचीको अर्को मानवीय संस्था इधी फाउन्डेसनका अजीम खानले द न्युजलाई बताउनुभयो । रासस/एएनआई

Spread the love