२०८१ माघ २७ आईतवार
9 February 2025, Sunday
Menu
 

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम

महेन्द्रनगर (कञ्चनपुर)। सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ । सुदूरपश्चिम पृतना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन् ।

यहाँ कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई-दुई, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक÷एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ । युवा वगलाई अनुशासित, बफादारिता तथा इमानदारी, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

यस क्रममा शुक्रबार महेन्द्रनगरस्थित श्री राष्ट्रिय बाल विद्यालयमा पनि सो तालिमको श्री नम्बर २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गर्नुभयो । उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नम्बर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता थियो ।

जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ । रासस

Spread the love