२०८१ मंसिर २६ बुधबार
11 December 2024, Wednesday
Menu
 

रूससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

रूससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

किएभ (युक्रेन), असार १५ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ ।

“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले यो कूटनीतिक मार्ग भएको र यसमा आँफूहरूले काम गरिरहेको बताउदै युक्रेन र रूसबिच हाल कुनै वार्ता भने नभएको उहाँको स्पष्टोक्ति रहेको छ ।

युक्रेन र रूसबिच हालसम्म कुनै वार्ता नभएकाले जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका शर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन् ।

शान्ति वार्ता सुरु हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रूसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।

यद्यपी २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रूसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गर्नुभएको छ ।

चालु महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नु भएको थियो । सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रूसलाई आमन्त्रित गरिएको थिएन ।

स्विजरल्याण्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशहरूले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डतालाई सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ ।

यसबाहेक, रूसी सेना युक्रेनको क्षेत्रमा बिस्तारै अघि बढिरहेका छन् भने शुक्रबार अर्को अग्रपङ्तीमा रहेको सानो गाउँ कब्जा गरेको दाबी रूसले गरेको छ ।

मस्कोले हाल युक्रेनको लगभग २५ प्रतिशत स्थान ओगटेको र सन् २०२२ मा चारवटा क्षेत्रहरू कब्जा गरेको दाबी गरेको छ ।

यसअघि बिहीबार ब्रसेल्समा भएको ईयू काउन्सिल शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र ‘विस्तृत योजना’ अगाडि राख्ने बताउनुभएको थियो । जेलेन्स्कीले सैनिक र नागरिकबिचको उच्च हताहतको कहालीलाग्दो दरलाई औंल्याउँदै द्वन्द्व अन्त्यका लागि आफुहरूसँग धेरै समय नभएको बताउनुभएको छ । रासस/एएनआई

Spread the love