२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

वन्यजन्तुबाट प्रभावितको दुर्घटना बिमा

वन्यजन्तुबाट प्रभावितको दुर्घटना बिमा

गुलरिया (बर्दिया) । बर्दियाको मधुवन नगरपालिकाका-३ का वन्यजन्तुबाट प्रभावित नागरिकको सामूहिक बिमा गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको सहकार्यमा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्ज बाँकेमार्फत उनीहरूको बिमा गरेको हो ।

मधुवन-१, २ र ३ नम्बर वडामा बसोबास गर्ने एक हजार तीन सय ११ परिवारका तीन हजार तीन सय ९० महिला र तीन हजार तीन सय ६६ पुरुषको प्रतिव्यक्ति दुई लाखका दरले सामूहिक दुर्घटना बिमा गरिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण विडारीले जानकारी दिनुभयो । कूल ३५ करोड १२ लाख बिमाङ्क जम्मा गरिएको उहाँले बताउनुभयो । “अन्य कुरामा पनि बिमा कम्पनीसँग सहकार्य जारी भएकाले बिमाको थप बिमाका कार्यक्रम बढाउँदै लैजान्छौँ । बिमा अवधि २०८१ असार ३० गतेदेखि २०८२ असार २० गतेसम्म एक वर्ष कायम रहने छ”, उहाँले भन्नुभयो ।

दुर्घटना भएको ३५ दिनभित्र बिमकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत टङ्क गुरुङ बताउनुहुन्छ । दाबी जालसाजीपूर्ण भए, दाबीको सिलसिलामा बिमालेख धारक वा बिमित वा निजको तर्फबाट कार्य गर्ने ब्यक्तिले झुट्टा बयान दिई अनुचित लाभ उठाउन खोजे, बिमा ऐन २०४९ बमोजिम बिमा समितिले बिमकको पक्षमा फैसला गरेको ३५ दिनभित्र उच्च अदालतमा उजुरी परे बिमा भुक्तानी नहुने प्रावधान छ ।

वन्यजन्तुबाट दुर्घटना भई मृत्यु भएको अवस्थामा बिमा रकम दुई लाख उपलब्ध गराइने अधिकृत गुरुङले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका स्थानीयको सामूहिक बिमा गरेपछि पीडितले समयमै राहत रकम पाउन सहयोग पुग्ने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ बताउनुहुन्छ । रासस

Spread the love