ब्युनस आयर्स। अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले बिहीबार भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको छ । ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएपछि कर्मचारीहरूलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको हो ।
अर्जेन्टिना सात ल्याटिन अमेरिकी मुलुकमध्ये एक हो जसका कूटनीतिक कर्मचारीहरूलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन मुलुकका सरकारहरूले आइतबारको निर्वाचन परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।
भेनेजुएलाका छ जना विपक्षी व्यक्तिहरू हाल अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् ।
“भेनेजुएलामा अर्जेन्टिनाको दूतावासको रेखदेख गर्ने ब्राजिलको इच्छाप्रति म अत्यन्तै आभारी छु”, माइलीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “हामी अर्जेन्टिना गणतन्त्र र त्यहाँका नागरिकहरूको हितको अस्थायी प्रतिनिधित्वका लागि आभारी छौँ, तानाशाह मदुरोले आइतबार गरेको ठगीप्रति हाम्रो निन्दाको बदलामा आज अर्जेन्टिनाका कूटनीतिक कर्मचारीहरूले भेनेजुएला छाड्नुपर्यो ।”
उहाँले शरणार्थीहरूको भाग्यका बारेमा केही उल्लेख गर्नुभएन ।
अर्जेन्टिनाका विदेशमन्त्री डायना मोन्डिनोले बुधबार वासिङ्टनमा अमेरिकी राज्य सङ्गठन ९ओएएस० को स्थायी परिषद्को आपत्कालीन बैठकमा मुलुकहरूलाई ‘कूटनीतिक प्रयास र शरणार्थीहरूको संरक्षणमा सहयोग गर्न’ आह्वान गर्नुभयो ।
ब्राजिलसँगको कूटनीतक सम्बन्धको प्रशंसा गर्दै राष्ट्रपति माइलीले भन्नुभयो, “हामीले स्वतन्त्र र लोकतान्त्रिक भेनेजुएलामा चाँडै नै हाम्रो दूतावास पुनः खोल्नेछौँ भन्नेमा कुनै शङ्का छैन ।”
अधिकारीहरूले आइतबार भएको निर्वाचनमा मदुरोलाई विजेता घोषणा गरेपछि भेनेजुएला राजनीतिक सङ्कटमा फँसेको छ । विपक्षीले आफ्नो उम्मेदवारले सहज अन्तरले जित हासिल गरेको प्रमाण रहेको दाबी गर्दै असन्तुष्टि जनाएको छ ।
ब्राजिल र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घलगायत धेरै देशले भेनेजुएलाका अधिकारीहरूसँग विस्तृत मतदान डाटा जारी गर्न माग गरेका छन् । ह्वाइट हाउसले बुधबार अन्तर्राष्ट्रिय समुदायको धैर्य समाप्त हुँदै गएको चेतावनी दिएको छ । रासस, एएफपी