२०८१ माघ ५ शनिबार
18 January 2025, Saturday
Menu
 

के हो शापू रोग?के कारण लाग्छ र कसरी बच्ने ?

के हो शापू रोग?के कारण लाग्छ र कसरी बच्ने ?

भदौ १६ गते,काठमाडौँ – चिकित्सकका अनुसार शापू आँखामा लाग्ने एक किसिमको दृष्टिनाशक रोग हो । यो रोगले अचानक आँखा रातो बनाउँछ । जसलाई हामी सापु रोग भनेर बुझ्न सक्दछौं । अचानक आँखामा लाग्ने यो रोगले छोटो समयमा ज्योति नै गुम्न सक्दछ । उज्यालो हेर्न गाह्रो हुन्छ, कालो भागको बीचमा सेतो देखिन्छ ।

विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ । यो रोगको लक्षणहरू देखापरेको ४८ देखि ७२ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेर समूहलाई देखिएपनि विशेषगरी बालबालिका बढी जोखिममा पर्ने गर्दछन् ।

हालसम्म सेतो पुतली–मोथलाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।

एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखा दुख्नु, उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्काल कमी हुने जस्ता लक्षण देखिने गर्छ ।

समयमै उपचार भएमा यो रोग निको हुन्छ । यदि उपचारमा ढिलाइ गरेमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ । यस्तो भएमा आफूखुसी औषधी वा जडीबुटीको प्रयोग नगर्न हालसालै स्वस्थ्य मन्त्रालयले सूचना जारी गरी आग्रह समेत गरेकोछ । यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जान मन्त्रालयको सुझाव छ ।

यो रोगबाट बच्न सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने,साँझ र राति झ्याल ढोकामा जाली हाल्ने, सुन्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने गर्नु पर्दछ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love