२०८१ चैत्र ७ बिहीबार
20 March 2025, Thursday
Menu
 

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङले घरमै कसरी पाए नागरिकता ?

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङले घरमै कसरी पाए नागरिकता ?

षडानन्द नगरपालिका १०,भोजपुर-‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अंक ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङको भिडियो हेरेर प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव लाई छिटो नागरिकता उपलब्ध गराउने प्रकिया मिलाउन निर्देशन दिनुभएको थियो । युट्युबमा सर्वाधिक हेरिएको भिडियोका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए ।

३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौं आउँदा हराएका प्रकाश गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा काम गर्दै आउनुभएको थियो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ।

गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि षडानन्द नगरपालिकाले पहल थालेको थियो । हिजो भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको छ ।

नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो ।

पछिल्लोपटक प्रकाश शनिबार काठमाडौंबाट हवाई मार्ग भएर सङ्खुवासभाको तुम्लिङटार हुँदै भोजपुरस्थित घर आउनुभएको थियो । नागरिकता प्रदान गर्दै नगर प्रमुख उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा प्रकाश र उहाँको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नागरिकता लिइसकेपछि प्रकाशले आगामी दिन भोजपुरमै रहेर खेती किसानी गर्ने मनसाय रहेको प्रतिक्रिया दिनुभएको छ।

“बर्सौंपछि भए पनि मैले परिवार भेट्न पाएँ । नागरिकता लिन पाएँ । मेरो जीवन यत्तिकै जालाजस्तो लागेको थियो, तर त्यसो भएन म खुसी छु,” उहाँले भन्नुभयो।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love