असोज ३ गते, काठमाडौं – बुधबार दिउँसो २ बजेतिर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अर्थमन्त्री विष्णु पौडेलले भ्रमण गर्नु भएको छ । पछिल्लो समय लगानीकर्ता ‘प्यानिक’ बन्नुले बजारमा जालझेल भएको त होइन भन्नेबारे चासो लागेर आफू नेप्से आएको उहाँले स्पष्ट पार्नुभयो । लगानीकर्ता त्रसित नहोउन् भन्ने चाहना सरकारको रहेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो भनाइ राखिसके पछि डेटा सेन्टर पुगेर त्यसबारे जानकारी लिनुभएको थियो । त्यसपछि प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा चियापानसहित सामान्य गफगाफ गर्नुभएको थियो ।
भ्रमणका क्रममा अर्थ मन्त्रीको नेप्सेका अधिकारीहरूलाई प्रश्न थियो ३ हजारसम्म पुगेको बजार किन २५८० आसपास आयो ? ३० अर्बसम्म पुगेको दैनिक कारोबार अहिले ५–६ अर्बमा खुम्चिनुको कारण के हो?
अर्थमन्त्रीको बुझाइमा ‘ नयाँ सरकार बनिसकेपछि लगानीकर्तामा विश्वास सिर्जना भएको छ । नयाँ सरकार मात्र बजारका लागि प्रयाप्त पक्कै होइन सरकार नेप्से सुधारका लागि जिम्मेवार बन्नुपर्ने हुन्छ ।
अहिले बजार सुधारका लागि अर्थ मन्त्रीले गर्नुपर्ने धेरै कार्यहरू बाँकी छन् । कारोबार राफसाफ गर्ने निकाय सीडीएस एन्ड क्लियरिङ यतिबेला प्रमुख कार्यकारी अधिकृतविहीन छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सरकार गम्भीर देखिँदैन । सेयर कारोबार हुने प्रणाली ‘टीएमएस’ मा बारम्बार समस्या देखिने गरेको छ ।
अर्कोतर्फ धितोपत्र बोर्ड कार्यकारी अध्यक्षविहीन हुँदा सार्वजनिक निष्कासन रोकिएको मात्रै छैन सेयर बजारमा हुन सक्ने सम्भावित जालसाजी कारोबार तथा अन्य भित्री सूचना प्रवाहबारे नियमन ठप्प छ ।
बोर्डमा परेका गुनासा तथा उजुरी उपयुक्त समयमा सम्बोधन हुन सकेका छैनन् । यी धेरै समस्याका बाबजुत अर्थमन्त्री पौडेलले गरेको नेप्से भ्रमणले खास समस्या सम्बोधनमा कुनै प्रगति नदेखिने भए पनि यसले लगानीकर्ताको मनोबल केही बढाउन मद्दत पुग्ने धेरैको अनुमान छ ।
अर्थमन्त्री पौडेलले बजार गिरावटप्रति नेप्सेका अधिकारीहरू समक्ष असन्तुष्टि पोखे पनि यसमा तालुकदार मन्त्रालय पनि जवाफदेहि हुनुपर्ने देखिन्छ ।
भ्रमणका क्रममा धितोपत्र बजारको दिगो विकासका लागि गम्भीर छलफल नभएको देखिन्छ । अर्थमन्त्रीले अचानक नेप्सेमा गरेको भ्रमण बजारलाई सन्देश दिन मात्रै भएको देखिन्छ ।
‘अर्थमन्त्री बजारप्रति सकारात्मक रहेको देखाउनका लागि मात्रै भ्रमण भएको भान भयो,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘बजारप्रति आफू सकारात्मक छु भनेर देखाउने काम मात्रै भयो ।’
बजार घटेकै बेला नेप्सेमा गएर भनेका केही विषयले उहाँ आफ्नो कार्यकालमा बजार नघटोस् भन्ने चाहना रहेको भन्ने बुझ्न सकिन्छ ।
अर्थमन्त्रीले आकस्मिक अनुगमनको शैलीमा नेप्सेको भ्रमण गर्नुको साटो धितोपत्र बजारमा रोकिएका काम तथा नीतिगत व्यवस्थामा सुधार गरेमा सेयर बजार सुधारमा फलदायी हुने कुरामा दुईमत नहोला ।
आफ्नो कार्यकालमा बजार बढेको चाहना राख्नु अर्थमन्त्रीको स्वभाव नै हुने भएकाले यो अन्यथा नरहेको लगानीकर्ता को बुझाई छ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क