असोज ५ गते, काठमाडौं-अल्जाइमर एक न्यूरोलोजिकल दीर्घरोग हो । मानसिक रोग विशेषज्ञहरुका अनुसार ब्रेनभित्र कुनै पनि कारणले खराब प्रोटिन जम्मा भएमा अल्जाइमर हुने बताउछन् । उनीहरूका अनुसार “ब्रेनको कोषिकाभित्र खराब प्रोटिन जम्मा भएर मस्तिष्कका कोषहरू बिस्तारै मर्ने गर्दछन्, जस्लेगर्दा स्मरण शक्ति, सोच्ने क्षमता र व्यवहारमा असर निम्त्याउने गर्छ ।”
यसले गर्दा स्मरण शक्तिमा ह्रास आउनुका साथै सुन्न सक्ने क्षमता कम हुने गर्छ । मानसिक रोग विशेषज्ञका अनुसार पुराना कुरा बिर्सँदै जाने र एउटै कुरा बारम्बार दोहोराउने, ध्यान केन्द्रित गर्नलाई समस्या हुने रोगलाई अल्जाइमर भनिन्छ ।
अल्जाइमरका लक्षण
विशेषज्ञका अनुसार अल्जाइमर तीन प्रकारका हुन्छन् । सुरुवाती चरणमा बिरामीले भर्खरै गरेका कुराहरू बिर्सने गर्दछन् ।
पहिलो चरणमा भर्खर गरेको कुरा बिर्सनु जस्तै खाएको बिर्सने, सामान राखेको ठाउँ बिर्सने, र एउटै कुरा गरिराख्नेजस्ता लक्षण देखिने गर्छ ।
दोस्रो चरणमा रोग जटिल हुँदै गएर पहिलेका कुरा बिर्सने, आफ्ना छोराछोरी, श्रीमान् बिर्सने, परिवारका अन्य सदस्य बिर्सने, घर आउजाउ गर्ने बाटो बिर्सनेजस्ता लक्षण देखिने गर्दछन् ।
तेस्रो चरणमा बिस्तारै मानसिक समस्या देखिने गर्छ । शङ्कालु हुने, नभनेका कुरा सुन्ने, वरिपरि नभएको कुरा देख्ने, सामाजिक रूपमा आपत्तिजनक काम गर्नेजस्ता समस्या निम्तने जस्ता समस्या देखिने विशेषज्ञहरु बताउँछन्।
यदि रोगको समयमा नै पहिचान नगरेमा कडा लक्षण देखिई दैनिक जीवनयापनमा कठिन हुने “यो रोग पहिचान भएन भने अन्तिम अवस्थामा खाना निल्न नसक्ने, दैनिक काम गर्न नसक्ने, शब्द हराउँदै जाने हुँदा हुँदा बोल्न नसक्ने, हिँडडुल गर्न नसक्ने जस्ता लक्षण देखिने, उठ्न नसक्ने र खानेकुरा निल्न नसकेर खाना सर्केर निमोनिया भएर बिरामीको मृत्यु समेत हुने विशेषज्ञहरु बताउँछन् ।
अल्जाइमरका कारण
यो उमेरको प्रमुख कारणमा बढ्दो उमेर भएता पनि प्रमुख जोखिम समूहमा श्रवण शक्तिमा कमी हुने मानिस, नसर्ने रोगजस्तै उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोपन, मधुमेह भएका मानिसमा यो रोग लाग्ने जोखिम बढी हुने विशेषज्ञहरु बताउछन् ।
त्यसका अलावा मस्तिष्कमा चोट, दृष्टिमा कमी, वायु प्रदूषण, पोषण तत्त्वको कमीले, अत्यधिक मदिरा र धूम्रपानको सेवन गर्ने मानिस, डिप्रेसन, एक्लोपन, शारीरिक निष्क्रियता रहेका मानिसमा भविष्यमा अल्जाइमर हुने सम्भावना बढी हुन्छ ।
रोगबाट कसरी बच्ने
जोखिम तत्त्वलाई कम गर्न सकेमा यो रोगलाई रोकथाम गर्न सकिने विशेषज्ञहरु बताउँछन् । अल्जाइमरलाई नियन्त्रण गर्न शारीरिक कसरत गर्ने, मानसिक रूपमा सक्रिय हुनु, दीर्घरोग नियन्त्रणमा राख्न विशेषज्ञको सुझाव छ । जोखिमलाई कम गर्न सकेमा एक चरणबाट अर्को चरणमा रोग बढ्नबाट रोक्न सकिने चिकित्सकको भनाइ छ ।
४० प्रतिशत अल्जाइमर रोगलाई निर्मूल गर्न सकिन्छ । ६० प्रतिशत जिनबाट हुने हुँदा नियन्त्रण गर्न सकिँदैन ।” हरेक दिन नयाँ कुरा सिक्ने, पढ्ने गर्दा पनि यो रोग लाग्नबाट बच्न सकिने विशेषज्ञहरु बताउछन् । खानेकुरामा ध्यान दिने जीवनशैलीमा परिवर्तन गर्न सकेमा यो रोगलाई निर्मलीकरण गर्न सकिन्छ । परिवारका सदस्यले सुरुवातकै चरणमा लक्षण देखिनसाथ चिकित्सककोमा लगेर रोग पत्ता लगाइ औषधी सुरु गराएमा यो रोगलाई नियन्त्रण गर्न सकिने चिकित्सकको सुझाव छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क