असोज ५ गते, काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०८४ को निर्वाचनपश्चात् नेकपा (एमाले)का तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताउनु भएको छ। शनिबार राजधानीमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेकामा उहाँले जोड दिनुभयो । उहाँले एमालेका तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि नै लाग्न जरुरी रहेको बताउनु भयो ।
एमाले आउँदो निर्वाचनबाट मुलुकमा निर्णायक शक्ति हुन अहिलेदेखि नै लाग्न जरुरी रहेको उहाँको भनाइ थियो । ०८४ पछि एमाले निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत पार्न जरुरी रहेको उहाँले बताउनु भयो ।
आउँदो निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर ‘जबज’का माध्यमबाट अभियान चलाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा भण्डारीको भनाइ पढ्नोस्–
म नेकपा (एमाले)को सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । वाम आन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा (एमाले)ले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो । मबाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ, पार्टीका कार्यक्रमहरूमा पार्टीका नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा (एमाले)लाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा (एमाले) बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ । नेतृत्वमा पुग्न के गर्नुपर्छ मैले भन्नु पर्दैन । मिठो खानको लागि दाल, चामललगायत धेरै कुराहरू मिलाउनुपर्छ । त्यसको लागि एमालेले प्रयास गर्नुपर्छ । नेकपा (एमाले) मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस्, धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउनुस् । मेरो यो मदन भण्डारी फाउन्डेसनको रजतजयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालेले फाउन्डेसनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ । न्युज एजेन्सीको सहयोगमा