असोज १७ गते । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ ।
इजरायलले तेहरानले उक्त आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।
इजरायली सेनाले इरानले आफ्नो क्षेत्रमा करिब १८० वटा क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये अधिकांशलाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय पारिएको जनाएको छ । क्षेप्यास्त्र लागेर एक जनाको मृत्यु हुनुका साथै केही भौतिक संरचनामा क्षति पुगको समाचारमा जनाइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गरेको क्षेप्यास्त्र आक्रमण ठुलो गल्ती भएको र इरानले यसको मूल्य चुनाउनुपर्ने चेतावनी दिनुभएको छ । इरानले यो आक्रमण गत जुलाईमा हमास नेता इस्माइल हानिया र हालै हेजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाहको हत्याको बदला भएको दाबी गरेको छ । विश्व समुदायले इरान र इजरायललाई संयम हुन आग्रह गरेका छन् । यसैबिच इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई इजरायल प्रवेश गर्न रोक लगाएको छ ।
महासचिव गुटेर्रेसले इरानी आक्रमणको निन्दा नगरेको भन्दै इजरायल प्रवेशमा प्रतिबन्ध लगाएको विदेशमन्त्री इजरेल काट्जले बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “जसले इरानले इजरायलमाथि गरेको जघन्य हमलाको प्रस्ट रूपमा निन्दा गर्न सक्दैन, उसलाई इजरायली जमिनमा पाइला राख्ने कुनै हक छैन ।” महासचिव गुटेर्रेसले गत वर्षको अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पनि निन्दा नगरेको उहाँको आरोप छ । (एजेन्सी)