कार्तिक ४ गते, कास्की – सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।
संसदीय छानबिन विशेष समितिले कार्बाही सिफारिस गरे बमोजिम सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न कास्की प्रहरीले ६ दिन माग गरेको थियो । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क