२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

इजरायल र अमेरिकालाई इरानका सर्वोच्च नेताले दिए कडा चेतावनी

इजरायल र अमेरिकालाई इरानका सर्वोच्च नेताले दिए कडा चेतावनी

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले इजरायल र अमेरिकालाई कडा चेतावनी दिएका छन् । खामेनीले इरान र आफ्ना सहयोगीहरूलाई आक्रमण गर्नेहरूलाई कडा जवाफ दिइने बताएका हुन् ।

खामेनीको बयान अक्टोबर २६ मा इरानमा इजरायलले गरेको हमलासँग सम्बन्धित छ । इजरायलको आक्रमणबाट इरानमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ।

इरानी सञ्चारमाध्यमका अनुसार खामेनीले भनेका छन्, “शत्रु चाहे इजरायल होस् वा अमेरिका, जसले इरान र इरानका सहयोगीलाई चोट पुर्‍योउँछ, उसले अवश्य पनि उचित जवाफ पाउने छ ।”

खामेनीले शनिबार विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि भेट गरेका थिए । त्यस क्रममा खामेनी इजरायल र अमेरिकाविरुद्ध धेरै आक्रामक देखिएका थिए ।

इजरायलको बदला कहिले लिन्छ इरान ?

खामेनीले इजरायल र अमेरिकालाई हमलाको धम्की दिए पनि आक्रमणको समय वा दायराबारे विस्तृत बताएका छैनन् ।

अक्टोबर २६ मा इजरायली हमलापछि ८५ वर्षीय खामेनीले संयम अपनाएका थिए । त्यतिबेला उनले इजरायली आक्रमणलाई बढाइचढाइ वा कम आँकलन गर्न नहुने बताएका थिए ।

इरानबाट इजरायलमाथि ठूलो हमला हुन सक्ने बताइएको छ । शुक्रबारको एक रिपोर्टले खामेनीले देशको राष्ट्रिय सुरक्षा परिषद्लाई इजरायलमा आक्रमणका लागि तयारी गर्न आग्रह गरेको दाबी गरेको छ । खामेनीले इजरायली आक्रमणलाई बेवास्ता गर्नु इरानको हार स्वीकार गर्नु बराबर हुने बताएका छन् ।

इजरायल र इरानबीच गाजामा युद्ध सुरु भएपछि तनाव बढेको छ । यसै वर्षको अप्रिलमा दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरेका थिए । त्यसपछि अक्टोबरमा दुवैले एकअर्कामाथि आक्रमण गरेका थिए । अब फेरि एकपटक इरानी नेताहरूले बदला लिने धम्की दिइरहेका छन्, जसले थप तनाव निम्त्याइरहेको छ ।

Spread the love