मंसिर १ गते, काठमाण्डौं—सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार बुटवलबाट पुनः पोखरा ल्याइएको छ । उनलाई शुक्रबार दिउँसो यती एयरलाइन्सको जहाजमार्फत पोखरा ल्याइएको हो ।
बुटवलको सुप्रिम सहकारीबाट समेत गोर्खा मिडिया नेटवर्कमा रकम गएकाले उनलाई अनुसन्धानका क्रममा मंगलबार रूपन्देही पुर्याइएको थियो । उनलाई जहाजमार्फत नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा लागिएको थियो । विमानस्थलबाट उनलाई बयानका लागि सोझै रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याइएको थियो । कार्यालयमा उनीसँग तीन दिनमा २३ घण्टा बयान लिइएको थियो । बिहीबार अबेर बयान सकिएकोले शुक्रबार ल्याएको कास्की प्रहरीले बताएको छ।
बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ । २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेका नामबाट १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको छ । त्यस्तै १ करोड रुपैयाँ छुट्टै रवि लामिछाने र रोशनी गुरुङका नामबाट ग्लोबल आईएमई बैंकमा जम्मा भएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए ।
लामिछानेलाई पोखरा विमानस्थलबाट गैह्रापाटनमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासतमा ल्याउने क्रममा नाराबाजी गर्न थालेपछि प्रहरीले ७ जना रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । प्रहरी कार्यालय अगाडि निषेधित क्षेत्रमा नाराबाजी गर्न लागेकाले उनीहरूलाई पक्राउ गरिएको र शुक्रबार नै छाडिएको कास्की प्रहरीले जानकारी दिएको छ।
लामिछाने पक्राउ परेको भोलिपल्टदेखि रास्वपा र सहकारीपीडितको प्रदर्शन हुन थालेपछि प्रशासनले जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन र जिल्ला अदालत रहेको सहिदचोक, बैदाम क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । रास्वपा कार्यकर्ताले हाल म्याद थपमा अदालत लैजाने दिनमा पोखरामा निषेधित क्षेत्रको घेरासम्म पुगेर प्रदर्शन गर्ने गरेका छन् । अन्य दिन भने मानवअधिकार चोकमा प्लेकार्डसहित धर्ना दिने गरेका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार गरी भदौ ३१ मा संसद्मा बुझाएको थियो । उक्त प्रतिवेदनमा गीतेन्द्रबाबु राई (जीबी) समूहको देशभरका ५ सहकारीबाट करोडौ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएकाले सञ्चालकलाई कारबाही गर्नुपर्ने सिफारिस थियो ।
उक्त प्रतिवेदन कार्यान्वयनको क्रममा पहिलोपल्ट असोज ६ मा गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका थिए । लामिछाने कात्तिक २ मा पक्राउ परेका हुन् । सूर्यदर्शन सहकारीकी पूर्वकर्मचारी लीला पछाईं र जीबी राईको कम्पनी नेचर हर्ब्सका सञ्चालक रामकुमार खनाल पनि पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान रहेकाले चार जनालाई म्याद थप गरेर राखिएको छ । पछिल्लोपल्ट जिल्ला अदालतले कात्तिक २५ मा १३ दिन म्याद थप गरेको छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क