काठमाडौँ ३ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ।
नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो भएको तर त्यो रकम निकालेर खर्च भएको ठाउँ नदेखिएपछि त्यसबारे अनुसन्धान गर्न लागिएको हो।
उहाँको बैंक खाता जाँच गर्दा ठुलो रकम जम्मा भएको देखिन्छ, तर खर्च भएको स्थान देखिँदैन। त्यसकारण त्यो रकम के शीर्षकमा खर्च भएको हो भनेर अनुसन्धान आवश्यक देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। लामिछानेले आफ्नो खातामा जम्मा भएको रकम गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। पारिवारिक समस्या सुल्झाउन उनले अमेरिका पैसा पठाएको आशंका गरिएको छ।
रास्वपाका तत्कालीन महासचिव मुकेश ढकालले सार्वजनिक रूपमै लामिछानेले हुन्डी कारोबार गरेको हुनसक्ने अभिव्यक्ति दिएका थिए। ढकालले अमेरिकामा रहेका मोहन थापा नाम गरेका व्यक्तिले लामिछानेले हुन्डीमार्फत पठाउने रकम परिचालन गरेको बताएका थिए। प्रहरीले यो अभिव्यक्तिलाई पनि आधार मानेर अनुसन्धान अघि बढाएको हो।
अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पाँच वर्षअघि एक लेखमार्फत सार्वजनिक गरेकी थिइन्। ‘यस्ता धेरै विषयलाई आधार मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
यो विषयमा प्रहरी औपचारिक रूपमा बोल्न चाहेको छैन। सम्पत्ति शुद्धीकरण विभागले पनि लामिछानेको सम्पत्तिबारे अनुसन्धान गरिरहेको छ। कास्की प्रहरीले लामिछानेको सबै सम्पत्ति रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेको छ।
ठगी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइने भएको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आइतबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन्। लामिछानेका व्यापारिक साझेदार एवं स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राई र अर्का साझेदार छविलाल जोशीसहित २४ जनाविरुद्ध भने कात्तिक १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो। राई फरार छन् भने लामिछाने र जोशी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगर–६ घर भएका कमल लामा र काठमाडौं महानगर–३१ घर भएकी सुनिता नेवा छिन्।
रकम अपचलनबारे अनुसन्धान गर्न ६ सय ४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। स्वर्णलक्ष्मीबाट एक अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। यसको अनुसन्धान गर्दागर्दै काठमाडौं परिसरका तत्कालीन एसएसपी भूपेन्द्र खत्रीको सरुवा भएको थियो। उनी सरुवा भए पनि अहिलेका एसएसपी वसन्त रजौरेले लामिछानेविरुद्ध पक्राउ पुर्जीका लागि अदालतसँग आदेश मागेका थिए।
रजौरेले अनुसन्धानलाई निरन्तरता दिएका थिए। त्यसकै आधारमा काठमाडांै जिल्ला अदालतले लामिछानेलाई पक्राउ अनुमति दिएको हो। २७ हजार निक्षेपकर्ताले सो सहकारीमा दुई अर्ब ६५ करोड ९५ लाख रूपैयाँ जम्मा गरेको सहकारीको अभिलेखमा भेटिएको छ।
काठमाडौं महानगरपालिका–१४, कालीमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीले न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट सहकारीले दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रूपैयाँ बचत संकलन गरेको थियो। जसमध्ये ६ सय ४५ जनाले आफूहरूको एक अर्ब ११ करोड बचत रकम सहकारीका सञ्चालक, कर्मचारीसहितको मिलेमतोमा अपचलन भएको उजुरी प्रहरीमा दिएका छन्।
पीडितले काठमाडौं महानगरपालिका र प्रहरीमा दिएको जाहेरी तथा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि आरोपितमध्येका २५ जनालाई अदालतबाट पक्राउ अनुमति लिइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
पक्राउ पुर्जी जारी हुनेमा रास्वपा सभापति लामिछाने, जोशी, राईसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन्।
यसैगरी पूर्वसञ्चालकहरू दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
सहकारीको बचत हिनामिनासम्बन्धी अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिएको थियो। सोही प्रतिवेदनका आधारमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वडिआइजी जोशी तथा गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने अनुसन्धानकै क्रममा कास्की प्रहरीको हिरासतमा छन्। लामिछाने र जोशीसहित आरोपितहरूविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
काठमाडौंको स्वर्णलक्ष्मी, कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले लामिछानेलाई बयानका लागि काठमाडौंपछि चितवन र पर्सा पनि लानसक्ने जनाएको छ।नागरिक दैनिक