२०८१ मंसिर २५ मंगलवार
10 December 2024, Tuesday
Menu
 

युरोप गन्तव्य बनाएका नेपालीलाई स्पेन सरकारको नयाँ नियम सहयोगी बन्न सक्ने

युरोप गन्तव्य बनाएका नेपालीलाई स्पेन सरकारको नयाँ नियम सहयोगी बन्न सक्ने

मंसिर ५ गते, काठमाण्डौं -स्पेन सरकारले आप्रवासी नीति खुकुलो बनाउने नियमावलीलाई अनुमोदन गरेको छ । मंगलबार आप्रवासन सम्बन्धी मन्त्री एल्मा साइजले पत्रकार सम्मेलन गर्दै सरकारले नयाँ नीति अनुमोदन गरेको जानकारी दिएकी हुन् ।

नेपालले स्पेनसँग श्रम सम्झौता गर्ने चर्चा चलिरहेको बेला स्पेन सरकारले सिजनल भिसाको लागि पनि विशेष व्यवस्था कायम गर्ने आप्रवासी सम्बन्धी नयाँ नीतिमा उल्लेख छ ।

स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ । यसबाट आवासीय अनुमति कार्ड लिन सहज हुने भएकाले नेपालीहरु पनि लाभान्वित हुनेछन् ।

पेद्रो सान्चेजको नेतृत्वमा रहेको सरकार आप्रवासीहरूप्रति मुख्यतः सहानुभूतिपूर्ण देखिएको छ । जबकि पोर्चुगल, इटाली र जर्मनीजस्ता अन्य युरोपेली देशहरूले सीमा नियन्त्रणमा कडाइ गर्न खोजिरहेका छन् ।

विगत ६ महिनादेखि चर्चामा रहेको आप्रवासन सम्बन्धी नीति अन्तत स्पेन सरकारले अनुमोदन गरेको हो । जसअनुसार स्पेनले आगामी तीन वर्षसम्म प्रतिवर्ष करिब तीन लाख अवैध आप्रवासीहरूलाई वैध बनाउने तयारी थालेको छ ।

श्रम शक्ति विस्तार गर्न खोजिरहेको स्पेनले त्यस्तो निर्णय गर्न लागेको आप्रवासन मन्त्री एल्माले बताइन् । ‘स्पेनले खुल्ला र समृद्ध देश बन्ने कि बन्द र गरिब बन्ने भन्ने विकल्पको बीच रोजाइ गर्नुपर्दा हामीले पहिलो विकल्प रोजेका छौं,’ मन्त्री साइजले भनेकी छन् ।

सामाजिक सुरक्षा प्रणालीलाई कायम राख्न स्पेनलाई वार्षिक करिब २ लाख ५० हजारदेखि तीन लाखको संख्यामा कर तिर्ने विदेशी कामदारहरूको आवश्यकता रहेको पनि उनले प्रष्ट पारिन् ।

आवासीय अनुमति कार्ड लिन सहज

स्पेनी पत्रिका ए.एस. डटकमका अनुसार अनियमित अवस्थामा रहेका आप्रवासीहरुलाई वैधानिक गर्न नयाँ नीतिले सहज बन्ने भएको छ । जस अन्तर्गत हालसम्म कायम रहेका ‘अराइगो सोसियाल’ र ‘अराइगो लाबोराल’ दुई भिन्न प्रावधानलाई समेटेर ‘अराइगो सोसियो लाबोराल’ भन्ने नयाँ प्रावधान अनुमोदन गरिएको छ । स्पेनमा वैधानिक हुन आवश्यक पर्ने न्यूनतम तीन वर्षको बसाइ अवधि (पात्रोनामेन्तो) लाई दुई वर्ष कायम गर्ने निर्णय गरिएको उल्लेख छ ।

सरकारद्वारा जारी प्रेस नोट अनुसार पनि आप्रवासीलाई वैध बन्नका लागि अराइगो अन्तर्गत पाँच किसिमका विकल्प ल्याउने जनाइएको छ । जसअनुसार ‘अराइगो सोसियाल’, ‘सोसियो लाबोराल’, ‘फ्यामिलियार’, ‘सोसियो फोरमातिभो’ र ‘सेगुन्दा ओपोरतुनिदाद’ रहेका छन् । आप्रवासन सम्बन्धी नयाँ नियमले विशेषतः तीन मुख्य क्षेत्रलाई समेटेको छ । जस अनुसार काम, शिक्षा र परिवार सम्बन्धी नीतिमा सुधार गरिएको सरकारद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

पहिलो अस्थायी आवासीय अनुमति पत्र (टिआरसी) को अवधि एक वर्ष र नवीकरणपछि सिधै ४ वर्षको म्याद कायम गरिने पनि उल्लेख छ । साथै अध्ययनका लागि स्पेन आएका विद्यार्थीहरुलाई हप्तामा ३० घण्टासम्म काम गर्न अनुमति दिइने जनाइएको छ ।

नेपालीका लागि अवसर

यदि नेपालले स्पेनसँग श्रम सम्झौता गरेको खण्डमा स्पेन जाने नेपालीले पनि स्पेन सरकारले लिएको नयाँ सिजनल भिसा सम्बन्धी नीतिको लाभ लिन सक्ने देखिन्छ। ‘आक्तिभिदादेस दे तेम्पोरादा’ को प्रावधान अनुरुप सिजनल भिसामा आउने कामदारका लागि पनि प्रक्रिया सहज गराउने जनाइएको छ ।

कार्ड बन्नका लागि चाहिने न्युनतम बसाइँको अवधि तीन वर्षबाट दुई वर्षमा झर्नु भर्खर स्पेन छिरेका हजारौं नेपालीका लागि यो सुखद समाचार हो । तर अहिले नेपालीको चाप बढेकाले यहाँ सोचेजस्तो सहज भने नहुन सक्छ ।

स्पेनको आप्रवासी नीति खुकुलो भएपछि अन्य युरोपेली मुलुकबाट स्पेन आउने नेपालीको चाप झन् बढ्ने हुनसक्छ । आप्रवासी नीतिमा स्पेन सरकारले नयाँ नियम अनुमोदन गरे तापनि व्यावहारिक रुपमा लागु हुन अझै केही समय लाग्नसक्ने हुनसक्छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love