काठमाडौँ —कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारदेखि बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । उद्घाटन खेलमा प्रतिस्पर्धी थिए, जनकपुर बोल्ट्स र विराटनगर किंग्स । जनकपुरले विराटनगरलाई ८ विकेटले हराएर एनपीएलमा सुखद सुरुआत लिएको छ ।
दुवै टिमबाट उच्च स्कोर गर्ने ब्याटर विदेशी खेलाडी रहे । श्रीलंकामा जन्मेका अमेरिकी खेलाडी लाहिरू मिलान्थाले ७५ रनको योगदान गरेपछि १ सय २८ रनको लक्ष्य जनकपुरले सहजै पूरा गरेको थियो । त्यसअघि न्युजिल्यान्डका मार्टिन गप्टिलको ५५ रनको सहयोगमा विराटनगरले १ सय २७ रन बनाएको थियो ।
एनपीएलको उद्घाटन खेल हुँदै गर्दा धेरै सम्झनलायक र केही बिर्सनलायक घटना भए । खेल सुरु हुनु तीन घण्टाभन्दा अघि नै दर्शक आउन सुरु भइसकेको थियो । तर, ती सबै समर्थक उत्तिकै भाग्यमानी रहेनन् । टिकट काटेकाहरू नै दर्शकदीर्घासम्म पुग्न सकेनन् । उल्टै केही समर्थक प्रहरीको लाठीचार्जबाट घाइतेसमेत भए ।
ठूलो खेलको अवसरमा नेपालमा जहिल्यै सुरक्षा व्यवस्था फितलो हुने गर्छ । जनकपुर र विराटनगरबीचको खेलमा पनि स्थिति लगभग यस्तै रह्यो । दर्शकदीर्घासम्म पुग्न नसकेकालाई पूरा खेल अवधिमा शृंखलाबद्ध रूपमा लखेट्ने काममा प्रहरी खटिरहनुपरेको थियो ।
यो घटनाले फेरि एउटा तथ्य सिद्ध भएको छ, नेपाली क्रिकेट लोकप्रियता र विस्तारको आधारमा असाध्यै अगाडि बढ्न खोजिरहेको छ । तर, हामीसँग त्यसलाई सुहाउँदो न भौतिक पूर्वाधार रहेछ न त व्यवस्थापन ।
यी सबै बिर्सनलायक घटनाबाहेक प्रतियोगिताको चर्चाले त्यो विन्दु छोएको छ, जसले भन्छ– एनपीएलले नेपाली क्रिकेटलाई उद्योगको स्वरूप दिन सक्छ । यसले अन्ततः क्रिकेटलाई मात्र होइन, अन्य धेरै क्षेत्रमा सहयोग पुर्याउन सक्षम बन्ने संकेत दिन्छ ।
सम्भवतः चुस्त व्यवस्थापन र यसलाई मेल खाने फ्रेन्चाइज टिमले प्रतियोगितालाई अगाडि बढाउने हो भने यसको लोकप्रियता र विस्तारले नेपाली क्रिकेटको सीमा मज्जाले नाघ्ने छ ।
सजिलै अनुमान गर्न सकिन्छ, यसपल्टको एनपीएलको आर्थिक विवरणले एक अर्ब रुपैयाँ छुनेछ । देशको आर्थिक स्थिति खासै राम्रो नभइरहेको स्थितिमा पनि सबै टिमले मन खोलेर खर्च गरिरहेका मात्र छैनन्, तिनले ठुल्ठूला ब्रान्डलाई प्रायोजकका रूपमा पनि पाइरहेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा सबै प्रकारले एनपीएलका हर्ताकर्ता पारस खड्काले दोहोर्याएर भनेका छन्, ‘एनपीएल नेपाली क्रिकेटकै लागि ठूलो अवसर हो, यसले यो खेलकुदलाई नै अर्कै स्तरमा पुर्याउनेछ ।’
उद्घाटन खेल सुरु हुन ठ्याक्कै अगाडि एउटा अर्को सुखद समाचार आयो, यसपल्टको विजेताले पुरस्कारकै रूपमा १ करोड ११ लाख रुपैयाँ जित्नेछ । कुल पुरस्कार राशि नै २ करोड ११ लाख रुपैयाँ छ । दोस्रो हुनेले ५० लाख पाउनेछ भने तेस्रो हुनेको खातामा ३० लाख पर्नेछ ।
चौथो हुनेले २० लाख पाउनेछ । प्रत्येक फ्रेन्चाइज टिमले गरेको खर्च अगाडि यो पुरस्कार राशि केही पनि नहुन सक्छ । अझ यो पहिलो संस्करणमै प्रत्येक फ्रेन्चाइज टिमले जति खर्च गरेका छन्, त्यसको ठूलै अंश लगानीकै रूपमा रहनेछ ।
क्यान सचिव पारस स्वयं पनि सहमत छन्, यो प्रतियोगिता मात्र नाफामा गएर पुग्नेछैन, फ्रेन्चाइज टिम आफैं नाफामा जानुपर्छ । फ्रेन्चाइज टिम कसरी नाफामा जानेछन् त ? यो नै सबैभन्दा ठूलो चुनौती हो । तर, फ्रेन्चाइज टिम आफैं बलियो व्यवस्थापनसहित अगाडि जाने हो भने त्यो दिन धेरै टाढा हुनेछैन, जतिबेला यी टिम नाफामा जानेछन् वा कम्तीमा घाटा खाने छैनन् ।
यसपल्टको प्रतियोगितामा सबैभन्दा आक्रामक भएर अगाडि आएको टिम हो, कर्णाली याक्स । टोलीले नै सम्भवतः तुलनात्मक रूपमा बढी खर्च गरेर भारतीय स्टार खेलाडी शिखर धवनलाई भित्र्याएको छ । उनी जत्तिको स्तरको खेलाडी नेपाल आएर खेल्ने सपना त अरू खेलले देख्नसमेत सक्दैनन्, वास्तविकता त झन् टाढाको कुरा । तर, नेपाली क्रिकेट असाध्यै भाग्यमानी छ किनकि उनी साँच्चै नेपाल आएका छन् ।
अब कीर्तिपुर मैदानमा खेल्दै पनि छन् । धवनको पनि भनाइ छ, ‘एनपीएलले राम्रो मात्र गर्नुपर्छ, यसले पूरा देशलाई नै फाइदा गर्छ ।’ यसको सुखद संकेत उद्घाटन खेलमै देखिएको थियो । अनलाइनमार्फत बिक्रीमा राखिएको केही घण्टामै खेलको पूरा टिकट बिक्री भएको थियो । व्यवस्थापन र सुरक्षाका कमजोरीलाई छोप्ने हो भने प्रतियोगिताले साँच्चै सुन्दर र सानदार सुरुआत पाएको छ ।
प्रतियोगितामा कुल ८ टिम छन् । तिनै टोलीमा दर्जनभन्दा बढी देशका खेलाडी आबद्ध भएका छन् । तिनीहरूले सुरुमा लिग चरणमा एकआपसमा खेल्नेछन् । त्यसपछि इलिमिनेटर र क्वालिफायर चरणको खेल हुनेछ । पुस ६ मा हुने फाइनलले निर्धारण गर्नेछ, पहिलो ऐतिहासिक एनपीएल च्याम्पियन को रह्यो भनेर ।
विराटनगरका कप्तान हुन् सन्दीप लामिछाने । उनले प्रतियोगिताको पूर्वसन्ध्यामा मिडियासामु भनेका थिए, ‘यो प्रतियोगिता कहाँ पुग्नेछ, के हुनेछ, त्यो अबको दुई तीन वर्षले निर्धारण गर्नेछ ।’ यो नै हो, वास्तविकता ।
नेपाली क्रिकेटले कमाएको सबैभन्दा ठूलो सम्पत्ति भनेकै यसका समर्थक हुन् । उनीहरू टिकट काटेर खेल हेर्न तयार छन् । तिनीहरूलाई पनि चाहिने भनेको सुविधासम्पन्न भौतिक पूर्वाधार र सुरक्षा व्यवस्था नै त हो । जुन उद्घाटन खेलमा भने थिएन ।कान्तिपुर