२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

एमसीसी पासगर्न थर्काउने अमेरिकी सहायक विदेशमन्त्री लुलाई प्रधानमन्त्री ओलीले दिएनन् भेट

एमसीसी पासगर्न थर्काउने अमेरिकी सहायक विदेशमन्त्री लुलाई प्रधानमन्त्री ओलीले दिएनन् भेट

मंसिर २४ गते,काठमाडौं-अमेरिकी सहायक विदेशमन्त्रीको कार्यकाल सकिन लाग्दा ‘बिदाई भेट’ को शैलीमा आइतबार काठमाडौं ओर्लेका लुसँग नेपालसँग जोडिएका व्यक्तिगत सम्बन्ध जति मिठा छन्, कुटनीतिक जीवनका पल भने त्यति प्रिय छैनन् ।

चिनियाँ बाबु र अमेरिकी आमाका छोरा डोनाल्ड लुले नेपालमा ३० वर्षअघि विवाह गरेर बस चढेर जनकपुर,सौराहा घुमेका थिए ।

बाइडेन प्रशासनका सहायक विदेशमन्त्री लुको कार्यकाल यही जनवरी २०२५ पहिलो साता, अर्थात् पुस तेस्रो साता सकिँदैछ । कार्यकालभरि आधा दर्जन जतिपल्ट नेपाल आइसकेका यिनै अमेरिकी मन्त्रीले तीन वर्षअघि माघ ०७८ मा एमसीसी अनुमोदन सिलसिलामा नेपालका ठूला तीन दलका शीर्ष नेताहरूलाई वासिङ्टन डीसीबाट टेलिफोन गरी थर्काएका थिए ।

एमसीसी अर्थात् मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना विभिन्न देशहरूको आर्थिक विकासमा केन्द्रित हुने भनेर घोषणा गरिएको अमेरिकी अनुदान कार्यक्रम हो । विद्युतको लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत् आर्थिक विकासलाई सघाउने लक्ष्य यो परियोजनाले लिएको बताइएको छ ।

नेपालमा यही सहायता लिने कि नलिने भनेर चर्को बहस भइरहेका बेला लुलगायत अमेरिकी उच्च अधिकारीहरू तारन्तार नेपाल भ्रमणमा थिए । २७ माघ २०७८ मा लुले अमेरिकाबाट फोन गर्दै तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि प्रमुख प्रतिपक्षमा त्यस बेला रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लुले एक महिनाभित्रमा एमसीसी पास नभए नेपाल चिनियाँ हस्तक्षेपको शिकार बनेको अर्थमा आफूले बुझ्ने भनी चेतावनी दिएका थिए । उनले बाँकी कुरा नेपालमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग गर्न एक किसिमको निर्देशन नै दिएकाथिए ।

२०२१ को फेब्रुअरी २८ अर्थात् २०७८ को फागुन दोस्रो सातासम्म एमसीसी पास गरिसक्न अमेरिकाले जोड दिएको थियो । अमेरिकाले दिएको समयमा पास गर्न लुको आक्रामक दबाबले नेपाल–अमेरिका कूटनीतिमा थपेको तिक्तता पनि झट्टै बिर्सिहाल्ने खालको छैन । त्यसैको आसपासमा भारत आइपुगेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले तत्कालीन प्रधानमन्त्री देउवालाई दिल्लीबाटै एमसिसी अनुमोदन गर्न दबाब दिन फोन गरेका थिए ।

अन्ततः नेपालले एमसिसी पास गर्‍यो । अमेरिकासँग सडकमै पोखिन थालेको तिक्तता क्रमशः हराउँदै गयो ।

तिनै चर्चित पात्र लु बाइडन प्रशासनका दक्षिण तथा मध्य एसिया हेर्ने अधिकारीका रूपमा बिदा हुने क्रममा भारत, श्रीलंका भ्रमण सक्दै नेपाल आएका थिए । एमसीसी पास गराउन दबाब दिदाको तिक्तता हटाउन लुले नेपाली नेतृत्व भेट्न चाहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिई झापा गएका छन् ।

प्रधानमन्त्रीसहित ठूला तीन दलका नेता भेट्न चाहेका लुलाई प्रधानमन्त्रीले न्यानो रेस्पोन्स नगरिदिएपछि कांग्रेस र माओवादी केन्द्रका प्रमुखलाई भेट्ने कार्यसूची पनि औपचारिक सेड्युलबाट हट्यो । अमेरिकी दूतावासले सार्वजनिक गरेको कार्यक्रममा नागरिक समाज र युवा अगुवा मात्रै भेट्ने भनिएको छ ।

देउवा र प्रचण्डसँग भेटको कार्यसूची नखुलाइए पनि सहायक विदेशमन्त्री लुले उनीहरूलाई आइतबार अपराह्न भेटेका छन् ।

लु खासमा आफ्नो राजनीतिक कूटनीतिक जीवनको उत्तरार्धतिर रहेका वरिष्ठ अमेरिकी अधिकारी हुन्, जसको नेपाल आगमनले एकदमै ठूलो अर्थ नराख्न सक्छ । यसै पनि उनले समर्थन गर्ने बाइडेन प्रशासन रहेको डेमोक्रेटिक पार्टी अमेरिकामा रक्षात्मक बन्न गएको छ ।

नेपालमा भने भर्खरै प्रधानमन्त्री ओलीले चीनमा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौता गरी नेपाल फर्केको, अनि उनको सरकार यसैकारण ढल्न सक्ने अनुमानहरू चलिरहेका छन् । यसै बेला पूर्वनिर्धारित तीन देशको भ्रमण क्रममा लु आइपुगे पनि उनको आगमनलाई नेपालमा सम्भावित सत्ता परिवर्तनको सदाबहार हल्लाकै पछिल्लो संस्करणका रूपमा जोड्न थालिएको छ ।

लुले आफ्नो बिदाई भेटलाई मिठो बनाउन गरेको मेहनत आइतबार सार्वजनिक तस्वीरहरू हेर्दै प्रष्ट हुन्छ, भलै यी तस्वीरहरूमा उनले प्रधानमन्त्री ओलीलाई समेट्न भने पाएनन् ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love