मङ्सिर २८ गते,काठमाडौं-शुक्रबार आदिवासी जनजाती महिलाहरूको प्रथम राष्ट्रिय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नराम्रो कामको नेतृत्व गरिरहेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो “यो माओवादी जुन दिन देशमा पलायो, त्यहाँबाट जाली फटाह, झुट, बेइमान, मुद्दा हाल्ने के गर्ने, मान्छेहरूलाई दुःख दिने, कूप्रचार गर्ने सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ ।
ओलीले प्रचण्ड नेतृत्वमा एमाले र त्यसका अध्यक्ष विरुद्धको कूप्रचारमा सक्रिय रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “प्रचण्ड महोदयले नराम्रा कामको नेतृत्व गरिरहनुभएको छ । उहाँको गिरोह सक्रिय छ । अरू होइन, एमाले र मेराविरुद्ध सक्रिय छ,” ।
उहाँले आफूमाथि लगाइएका आरोप र भ्रम काठमाडौंमा नै बसेर पचाइदिने समते बताउनुभयो । “शिवजीले घाँटीमा लिएर कहिले गोसाईकुण्ड पुग्नुहुन्थ्यो, कहिले कहाँ । काठमाडौं बसी बसी त्यस्ता विष निलिदिन्छु, पचाइदिन्छु । कतै जानुपर्दैन । जसले जे फैलाए पनि खण्डन गरेर जाने हो, झुटलाई पराजित गर्ने हो,” ओलीले भन्नुभयो ।
उहाँले भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । उहाँले प्रचण्डले भ्रष्टाचारीको संरक्षण गरेर आफूविरुद्ध आरोप लगाएको भन्दै आपत्ति समेत व्यक्तगर्नुभयो ।
“देशै लुटेर एमाले भ्रष्टाचारी ? केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर हिँड्ने ?,” उहाँले भन्नुभयो।
कांग्रेस र एमालेबीचको गठबन्धन अनुचित शक्तिहरूलाई बोक्नुपर्ने बाध्यतालाई सखाप पारौँ भन्ने संकल्पका साथ गरिएको उहाँले सुनाउनुभयो ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क