२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

लामिछानेलाई कुन-कुन कसुरमा कति बिगो दाबी सहित कैद सजाय माग गरियो ?

लामिछानेलाई कुन-कुन कसुरमा कति बिगो दाबी सहित कैद सजाय माग गरियो ?

पौष २ गते, काठमाण्डौं —पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको छ ।

गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको हो ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरेको प्रहरीले छवि पक्राउ परेसँगै ८४ दिनको अनुसन्धान सकेर ३ वटै मुद्दामा अभियोजन पेश गर्न माग गरेको छ । पहिलो चरणमा सूर्यदर्शन सहकारी प्रकरणमा प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँ ठगी भएको प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई प्रहरीले दिएको रायमा लामिछानेलाई कैद र जरिवाना हुनुपर्ने प्रहरीको राय छ ।

प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको हो ।

लामिछानेलाई संगठित अपराधमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३(१), (२), (३ क) र (५) को विपरीतको कसूर गरेको भन्दै सोही ऐनको दफा ९ (क) र (ग) बमोजिम हुने सजायको थप ५० प्रतिशत सजाय हुनुपर्ने राय प्रहरीले सरकारी वकिलको कार्यालयलाई दिएको हो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र (ग)ले निषेधित गरेको कार्य गरेकोले २ देखि १५ वर्षसम्मे कैद र बिगोको दोब्बर जरिवाना हुनुपर्ने प्रहरीको राय छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ दफा ३० को उपदफा १ बमोजिमको बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय हुनुपर्ने प्रहरीको राय छ ।

लामिछाने सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले प्रत्येक मुद्दामा थप सजाय माग गरिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love