२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

दुई खेलमा हारेको बदला लिँदै जनकपुर बोल्ट्स बन्यो च्याम्पियन

दुई खेलमा हारेको बदला लिँदै जनकपुर बोल्ट्स बन्यो च्याम्पियन

पौष ६ गते,काठमाडौँ-कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ । 

अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको हो ।

च्याम्पियन बन्न एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जनकपुरका लागि मिलान्थाले सर्वाधिक ८७ रन बनाएका थिए । उनले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यससँगै मिलान्था एनपिएलमा सर्वाधिक दुई सय ९३ रन बनाउने पहिलो ब्याट्सम्यान समेत बनेका छन्। मिलान्था प्लेयर अफ दि म्याच भएका छन् । यस्तै कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाएका थिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सईफ जैवले अर्धशतकीय इनिङ्स खेलेका छन् । जैवले ६९ रन बनाएका छन् । उनले ४३ बल आठ चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । विनोद भण्डारीले ४१ रन बनाएका थिए ।

उनले ३१ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । पहिलो विकेटका लागि जैव र भण्डारीले एक सय १७ रनको साझेदारी गरेका थिए ।

यस्तै हर्मित सिंह र ब्रान्डन म्याकमुलनले १४/१४, स्कट कुग्लेजिनले १३, कप्तान दीपेन्द्रसिंह ऐरीले नौ, नरेश बुढाऐरले आठ र इशान पाण्डेले ६ रन बनाएका थिए । 

बलिङमा जनकपुरका मोहमद मोसिन र किशोर महतोले तीन तीन विकेट लिएकाथिए । यस्तै ललित राजवंशी र जेम्स निसमले एक एक विकेट लिए ।

जनकपुरले सुदूरपश्चिमसँग यसअघि दुई खेलमा हारेको बदला समेत लिएको छ । यसअघि जनकपुर सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा आठ विकेटले पराजित भएको थियो । २० हजार दर्शकको साथ पाएको फाइनल खेलमा जनकपुरले आफुलाई बास्तविक उपाधिको हकदारको रुपमा उभ्यायो । 

आठ वटा फ्रोन्चाइज टोली सहभागि रहेको एनपिएलमा प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पाएका छन् । 

खेलकुद ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love