२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

रवि लामिछानेविरुद्ध कास्कीमा कुन-कुन कसुरमा मुद्दा दायर गरियो?

रवि लामिछानेविरुद्ध कास्कीमा कुन-कुन कसुरमा मुद्दा दायर गरियो?

पौष ७ गते,कास्की-पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको अधिकारीहरूले बताएका छन्।

उनीविरुद्ध फरकफरक कसूरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए।

उनले भने , “कुल ४२७ पेजको अभियोजनपत्र छ। छुट्टाछुट्टै कसूरहरूमा सोहीअनुसारका सजाय माग गरिएको छ।”

जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो।

कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भनिन्, “प्रतिवादीहरू धेरै छन्। अदालतबाट प्रमाणीत अभियोगपत्रको प्रति पाएपछि हामी त्यसलाई सार्वजनिक गर्छौँ।”

कास्की प्रहरीले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा चलाउनु पर्ने सिफारिससहित गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

काफ्लेका अनुसार लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ।

लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि एउटा मामिलामा प्रतिवादी बनाइएको उनले बताइन्।

काफ्लेले भनिन्, “सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफत गर्नुपर्ने पनि हुन सक्ने भएकाले श्रीमान्‌लाई प्रतिवादी बनाउँदा श्रीमती वा श्रीमतीलाई प्रतिवादी बनाउँदा श्रीमान् स्वत: प्रतिवादी कायम हुने व्यवस्था अनुसार उहाँलाई पनि प्रतिवादी बनाइएको हो।”

काफ्लेले आइतवार पेस गरिएको पूरक अभियोजनमा विभिन्न व्यक्ति र कम्पनीहरूलाई पनि प्रतिवादी बनाइएको जानकारी दिइन्।

यो मामिलामा केही प्रतिवादीविरुद्ध ब्याङ्किङ कसूरसम्बन्धी अभियोग पनि लगाइएको छ।

कतिपय प्रतिवादीहरूले सहकारीको रकम अपचलन गरेर त्यसलाई अनलाइन जुवा तथा नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीहरूमा समेत लगानी गरेको आशङ्कामा त्यस्तो अभियोग लगाइएको बुझिएको छ।

सहकारी ठगीबारे अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया प्रालीमा सहकारीबाट आएको रकमको हकमा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित जिम्मेवार रहने भन्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

आइतवार लामिछानेलाई पनि कास्की जिल्ला अदालतमा पुर्‍याइएको थियो। लामिछाने आफू निर्दोष रहेको र राज्यले आफूसँग प्रतिशोध साँधेको बताउने गरेका छन्।

उनको दलले पनि लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही अघि बढाइएको भन्दै प्रदर्शन गर्दै आएको छ।

कति बिगो माग दाबी गरिएको छ?

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माका अनुसार सम्पत्ति शुद्धीकरण मामिलामा लामिछानेले २७ करोड ८९ लाख ४४ रुपैयाँ गैरकानुनी ढङ्गले आर्जन दाबी गरिएको छ।

त्यस्तै पूर्व प्रहरी अधिकारी छविलाल जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दर्ता गरिएको छ।

जोशीले ७४ करोड ३४ लाख ७१ रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको अधिकारीहरूले बताएका छन्।

शर्माका अनुसार सहकारी ठगीका मामिलामा भने सबै प्रतिवादीहरूसँग गरेर कुल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको बिगो माग गरिएको छ।

प्रतिवादीहरूलाई माग गरिएको सजाय “कसूर अनुसार फरक फरक रहेको” पनि उनले सञ्चारकर्मीहरूलाई बताइन्।

आइतवार सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा ३१ जनालाई प्रतिवादी बनाइएको बताइएको छ।

सम्पत्ति शुद्धीकरण मामिलामा ८ वटा कम्पनी र ५ व्यक्तिहरूको सम्पत्ति पनि जफत हुनुपर्ने माग दाबी गरिएको छ।

त्यसरी सम्पत्ति जफत माग गर्दै प्रतिवादी बनाइएकाहरूमा लामिछानेकी पत्नीसहित जोशीका श्रीमती, छोराछोरीलगायतलाई पनि प्रतिवादी बनाइएको बुझिएको छ।

सूर्यदर्शन सहकारी मामिलामा मूल, थप र पूरक अभियोगपत्र गरी हालसम्म कुल ६३ जना प्रतिवादी कायम भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा कास्कीको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा १९ जनाविरुद्ध शुक्रवार थप अभियोजन दर्ता गराएको थियो।

त्यसमा  जीबी राई भनिने गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको थियो। कास्की जिल्ला अदालतका निमित्त स्रेस्तेदार खेमनारायण लामिछानेका अनुसार पुरानो बिगो १ अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा ४० करोड थपिएको थियो।

सोही रकम आइतवार दायर अभियोगपत्रमा पनि कायम गरी बिगो माग दाबी गरिएको अधिकारीहरूले बताएका छन्।

सूर्यदर्शन सहकारीको रकम हिनामिनासम्बन्धी अनुसन्धानमा कास्की प्रहरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि सघाएका विवरण आएका थिए। बीबीसी नेपाली

Spread the love