पौष १० गते, काठमाण्डौं-नेपाल सरकारले दक्षिणपूर्वी एशियाका चार देशमा यात्रा गर्न चाहने नेपालीहरूलाई सावधानी अपनाउन अपील गरेको भोलिपल्ट म्यान्मारस्थित नेपाली राजदूतले त्यहाँको सरकारको पहुँच नभएको क्षेत्रमा १३ नेपाली नागरिक उद्धारको पर्खाइमा रहेको बीबीसीलाई बताएका छन्।
अधिकारीहरूका अनुसार सूचना प्रविधिको क्षेत्रमा आकर्षक तलब र सुविधा दिने प्रलोभनमा पारी ती व्यक्तिलाई म्यान्मारको कायिन प्रान्तको म्यावडी क्षेत्रमा पुर्याइएको थियो।
तर चरम श्रमशोषण गरिने, यातना दिइने र कडा सुरक्षा घेराबीच बाहिर समेत निस्कन नदिई राखिने भन्दै ९० जनाभन्दा बढीले उद्धारको अनुरोध गरेकोमा अधिकांश स्वदेश फर्किसकेको म्यान्मारस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले बीबीसीलाई बताए।
अधिकारीहरूका अनुसार विगतमा थाईल्यान्डको राजधानी ब्याङ्कक हुँदै नेपालीहरूलाई म्यान्मार पुर्याइने गरेको थियो ।
तर अहिले सङ्गठित गिरोहहरूले भारत र यूएईबाट सोझै म्यान्मार, क्याम्बोडिया र लाओसमा नक्कली जागिरको प्रलोभन देखाएर लैजाने प्रवृत्ति रहेको अधिकारीहरूले बताएका छन्।
म्यान्मार जान किन सावधानी चाहिन्छ
परराष्ट्र मन्त्रालयले सोमवार थाईल्यान्ड र म्यान्मारको यात्रासम्बन्धी सूचना जारी गर्ने क्रममा २०७९ साल पुसमा ‘ट्राभल एड्भाइजरी’ जारी भएपछि प्रलोभनमा परेर म्यान्मारको म्यावडी पुग्ने नेपालीहरूको सङ्ख्यामा कमी आएको उल्लेख गरेको थियो।
बीबीसीसँग कुरा गर्दै म्यान्मारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले पछिल्लो सूचना सम्पूर्ण म्यान्मार नभएर थाईल्यान्डसँगको सीमामा अवस्थित म्यावडी क्षेत्रप्रति लक्षित रहेको बताए।
“त्यहाँ अवैध धन्दा गर्ने कम्पनीहरू छन् जुन म्यान्मार वा थाईल्यान्ड कतैको पनि सरकारसँग दर्ता भएका छैनन्। कल सेन्टर चलाउने, किर्ते काम गर्ने, क्रिप्टोकरेन्सी करोबार तथा अनलाइन ठगी गर्ने कम्पनीहरूका कारण विभिन्न देशका नागरिकहरू समस्यामा परेको हालै न्यापिडमा त्यहाँको गृह मन्त्रालयले कूटनीतिज्ञहरूलाई जानकारी गराएको थियो।”
उनका अनुसार उक्त क्षेत्रमा म्यान्मार सरकारको पहुँच छैन र स्थानीय जातीय समूहहरूको प्रभाव छ।
“म्यान्मार सरकारले हामीले चाहेर पनि उद्धार गर्न सम्भव छैन भन्ने जानकारी गराएकाले हामीले त्यहाँ रोजगारी सुरक्षित छैन भन्ने हिसाबले ट्राभल एड्भाइजरी जारी गरेका हौँ।”
म्यान्मारमा कति नेपाली अलपत्र
राजदूत घिमिरेका अनुसार म्यान्मार सरकारले कूटनीतिज्ञहरूलाई म्यावडी क्षेत्रमा विभिन्न ३७ देशका श्रमिकहरू रहेको जानकारी गराएको थियो।
‘अनलाइनमा आकर्षक तलब’ को विज्ञापन देखेर दर्जनौँको सङ्ख्यामा त्यहाँ नेपालीहरू पुगेका अधिकारीहरूले अनुमान गरेका छन्।
राजदूत घिमिरेले थपे, “हामीले त्यसरी आएका नेपालीहरूलाई उद्धार गरेर स्वदेश फर्काउने काम गरिरहेका छौँ। हालसम्म हाम्रो दूतावासमा जम्मा ९१ जनाले लिखित आवेदन गर्नुभएको रहेछ। त्यसमध्ये १३ जना अझै बाँकी हुनुहुन्छ। अरू ७८ जना नेपाल फर्किसक्नुभएको छ।”
अहिले म्यान्मारमा गृहयुद्ध चलिरहेको छ। म्यान्मार सरकारको पहुँच उक्त क्षेत्रमा नहुने हुनाले आफूहरूले ती व्यक्तिको उद्धारका लागि विभिन्न गैरसरकारी संस्थाबाट सहयोग लिइरहेको घिमिरेले बताए।
“अहिले पनि हामीले सरकारको सम्बन्धित निकायमा पत्राचार गरिरहेका छौँ। त्यहाँ रहेका गैरसरकारी संस्थाहरूलाई पनि आवश्यकताअनुसार सहयोग गरिदिनुपर्यो भनिरहेका छौँ। कम्पनीले कडा सुरक्षासाथ भित्र काम लगाउने भएका हिसाबले हामीले भारत, पाकिस्तानजस्ता नागरिक फसेका देशका अनुभव के छन् भनेर उहाँहरूसँग पनि समन्वय गरेर हामी अघि बढिरहेका छौँ।”
विगत तीन साताको अवधिमा श्रीलङ्काका अरू ३२ नागरिकसँगै पाँच नेपाली म्यावडीबाट निस्किएको उनले सुनाए। तीमध्ये एक महिलासहित पाँच जना नेपाल फर्किसकेको जानकारी ब्याङ्ककस्थित नेपाली राजदूतावासले दिएको छ।
प्रलोभनमा नपर्न सुझाव
परराष्ट्र मन्त्रालयको सूचनामा अनलाइन जुवा, कल सेन्टर, क्रिप्टोकरेन्सी ठगी आदिमा संलग्न शङ्कास्पद आईटी फर्महरूले ब्याङ्ककमा रोजगारीको अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरूलाई गैरकानुनी रूपमा ब्याङ्कक हुँदै क्याम्बोडिया, लाओस र म्यान्मार लगेर “बन्दी बनाएर काम गराएको” पाइएको उल्लेख छ।
थाईल्यान्ड र म्यान्मारमा रोजगारीका विज्ञापन प्राय: सामाजिक सञ्जालमार्फत् विभिन्न स्थानका एजेन्टहरूले प्रस्तावित गर्ने गरेका भन्दै नक्कली जागिरको प्रलोभनमा नपर्न उक्त सूचनामा ध्यानाकर्षण गराइएको छ।
साथै वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि ‘भिजिट भिसा’मा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत् विदेशी फर्म, कम्पनी र रोजगारदाताबारे पर्याप्त जानकारी लिन उक्त सूचनामा अपील गरिएको छ।
थाईल्यान्डस्थित नेपाली राजदूतावासका प्रथम सचिव खगराज पाण्डेका अनुसार ब्याङ्ककको बाटो हुँदै नेपालीहरूलाई विभिन्न ठाउँमा अवैध काम गर्ने लैजाने प्रवृत्ति देखिएपछि त्यो रोक्न आफूहरूले पैरवी गरेको बताउँछन्।
“हामीले यहाँको सरकारलाई भिजिट भिसामा कडाइ गर्न अनुरोध नै गर्नुपर्यो। अहिले दुबई केन्द्र भएको छ। त्यसपछि भारतबाटै पनि यस्तो गतिविधि भएको छ। यस्तो ठगी गर्ने सञ्जाल नै छ।”
अधिकारीहरूले पछिल्लो गिरोहको निसानामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तिहरू परेको पाइएको छ।
पाण्डेका अनुसार विगतमा आईटी इन्जिनियरजस्ता पढेलेखेका मानिसहरू पनि यस्ता गिरोहहरूको प्रलोभनमा परेको पाइएको थियो।
ब्याङ्ककस्थित नेपाली राजदूतावासले जारी गरेको सूचनामा पर्यटक भिसामा यात्रा नगर्न र रोजगारीको आश्वासनमा भर नपर्न भनिएको छ।
अधिकारीहरूले पछिल्लो ‘ट्राभल एड्भाइजरी’सँगै अध्यागमन विभागले नेपालबाट ती देशका लागि प्रस्थान गर्ने नागरिकहरूप्रति निगरानी बढाउने अधिकारीहरूले बताएका छन्।
थप जानकारी चाहिने भए याङ्गुनस्थित नेपाली राजदूतावास र ब्याङ्कस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ।
क्याम्बोडिया र लाओसमा नेपालीलाई ‘अन-अराइभल भिसा’
म्यान्मारस्थित राजदूत घिमिरेले हाल म्यान्मारको तरल अवस्थाका कारण म्यावडी क्षेत्रमा त्यस्ता गिरोहहरूले नेपालीसहितका कामदारहरूलाई अवैध काममा लगाएका हुन्।
“यसको ऐतिहासिक पृष्ठभूमि हेर्दा यस्ता खालका गतिविधि सुरुमा लाओस, क्याम्बोडियाबाट सुरु भएको थियो। जहाँ उनीहरूलाई सहज हुन्छ र राजनीतिक अस्थिरता हुन्छ त्यहाँ उनीहरूले यो खालका धन्दाहरू चलाइरहेको देखिन्छ।”
नेपालीहरूले थाईल्यान्ड र म्यान्मारको यात्रा गर्दा प्रवेशाज्ञा लिनुपर्ने प्रावधान छ। तर क्याम्बोडिया र लाओसको यात्रा गर्दा त्यहाँ पुगेपछि ‘अन-अराइभल’ भिसा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।
आकर्षक रोजगारीको बहानामा ती देशमा पुर्याइएका नेपालीहरूलाई बन्धक बनाइने गरेको भन्दै अधिकारीहरूले नेपालले वैदेशिक रोजगारीका लागि नखुलाएका ती देश पुर्याउने काम दण्डनीय भएको जनाएका छन्। बीबीसी नेपाली