२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

चपलीमा ओली-भण्डारी भेटवार्ता,एमालेमा ओली भण्डारी दुईलाई संघर्ष बढेकै हो?

चपलीमा ओली-भण्डारी भेटवार्ता,एमालेमा ओली भण्डारी दुईलाई संघर्ष बढेकै हो?

पुष १८ गते, काठमाडौं -प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बिहीबार अपराह्न पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति विद्या भण्डारी भेट्न चपली भण्डारी निवास गए । प्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दुवैतर्फका स्रोत अनुसार, ‘अढाई घन्टा सौहार्द वार्ता भयो ।’ तर भेटघाटका पृष्ठभूमि भने धेरै सौहार्द छैनन् ।

शीतल निवासमा दुई कार्यकाल बिताएपछि पूर्वराष्ट्रपति भण्डारी फेरि एमाले अध्यक्ष बन्न चाहन्छिन् ।

शीतल निवाबाट बाहिरीए पछि विभिन्न सञ्चार माध्यममा समय -समयमाआफ्ना कुरा राख्दै उनले आफू पार्टीमा फर्केर अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताउने गरेकी छन् ।

उनले राष्ट्राध्यक्ष बन्ने बेला नौ वर्षअघि ‘निष्क्रिय’ पारेको पार्टी सदस्यता गत वैशाखमा नवीकरण गरिसकेकी छन् । अनि जिल्ला–जिल्लाबाट काठमाडौं आउने एमाले नेता कार्यकर्तालाई पूर्वराष्ट्रपति भण्डारीले प्राथमिकतासाथ भेट्न थालेकी छन् । एमालेमा अचेल अवसर नपाउने कार्यकर्ताका पीडा भण्डारीले मज्जैले सुन्दिन थालेकी छन् । भण्डारीका गतिविधि, अनि उनलाई भेट्न जाने नेता–कार्यकर्ताका बारेमा ओली पनि जानकार छन् ।

भण्डारीका गतिविधि नियालिरहेका ओली बेलाबेला प्रतिक्रिया र कटाक्ष गर्न पनि पछि पर्दैनन्।ओलीले दुई साताअघि भण्डारीबारे अर्थपूर्ण अभिव्यक्ति दिएका थिए । मंसिर अन्तिम साता एमालेको संगठन विभागद्वारा आयोजित कार्यक्रम समापनमा बोल्दै ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई यसअघिका महत्त्वपूर्ण जिम्मेवारीमा आफूले नै प्रस्ताव गरेको जस लिए । अनि उनलाई राजनीतिमा ल्याउनुपरे आफैंले प्रस्ताव गर्न सक्ने संकेत दिँदै अनावश्यक रुपमा ‘गल लगाएर नतान्न’ पार्टी नेताहरूलाई चेतावनी नै दिए ।

उनले यसअघि विराटनगरमा मिडियासँग बोल्ने क्रममा भण्डारीको सम्भावित सक्रिय राजनीतिको प्रसंग झिकेर पार्टीभित्र समस्या पैदा गर्न खोजिएको बताएका थिए ।

पार्टीका उच्च तहका नेताहरूले नै भण्डारीलाई सक्रिय गराउन चाहिरहेको एमाले वृत्तमा बहसमै छ । उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू भण्डारीलाई अग्रसर गराउन छलफलमा रहेको गाइँगुइँ चलेको थियो । जसको स्पष्टीकरणमा पौडेलले केही साताअघि एमालेमा ओलीलाई प्रतिस्थापित गर्ने अर्को कुनै नेता नभएको ठोकुवा गर्दैै अन्तर्वार्ता दिनुपरेको थियो । ओलीले आफूमाथि बढ्दो चुनौतीलाई समयमै आंकलन गरिसकेका छन् ।

बिहीबार ओली स्वयंले अध्यक्षता गरेको पार्टी बैठकमा सरकारमा पार्टीको कार्यक्षमता, नेतृत्वको शैली आदि विषयमा प्रश्नहरू उठेका थिए । ओली आफैंले राष्ट्रिय राजनीति सहज अवस्थामा नरहेको बताएका थिए । बैठकपछि पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक अवस्थाको बारेमा गम्भीर विवेचना गरिएको टिप्पणी गरेका थिए ।

यसअघि असार २८ मा ओली प्रधानमन्त्री नियुक्त भएको सूचना सार्वजनिक हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका थिए । त्यसयता दुई नेताबीच बेलाबखत फोनमा कुरा हुने बाहेक खुलेर संवाद नभएको लामो अवधि भइसकेको स्रोत बताउँछ ।

एमालेको सक्रिय राजनीतिमा फर्कन चाहने भण्डारी, अनि उनलाई ‘गल लगाएर नतान्न’ पार्टी पंक्तिलाई चेतावनी दिने ओलीका बीचमा धेरैपछि चपलीमा भएको छलफलले एमालेको आन्तरिक वृत्तमात्रै होइन, राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Spread the love