२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

चाइना र इन्डियामा फैलिदैगएको एचएमपीभी भाइरस के हो, यो कोरोना जस्तै घातक छ?

चाइना र इन्डियामा फैलिदैगएको एचएमपीभी भाइरस के हो, यो कोरोना जस्तै घातक छ?

पुष २२ गते, काठमाण्डौं-ह्युमन  मेटाप्युमो भाइरस (एचएमपीभी) श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरस हो । यो मौसमी भाइरस पनि हो । यसको प्रभाव सामान्यतया जाडो र वसन्तमा बढी देखिन्छ । यो फ्लु जस्तै संक्रमण भएको विज्ञहरु बताउँछन् ।

चीनमा एचएमपीभी संक्रमण फैलिएपछि सर्वत्र प्रश्न उठेको छ, ‘कतै यो पनि कोरोना जस्तै भयानक त हुँदैन ?’ स्वास्थ्य सङ्कटकाल नै घोषणा गर्नुपर्ने अवस्था आउन सक्छ ? वा लकडाउनको स्थिति आउँछ होला ? यस्ता प्रश्न पनि उठ्न थालेको छ ।

किनभने चिनियाँ अस्पतालहरुमा बिरामी भरिभराउ भएको फोटो-भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिकित्सकहरुका अनुसार यी बिरामीहरुमा ‘फ्लु’ जस्ता लक्षण देखिएका छन् ।

चीनका स्वास्थ्य अधिकारीहरूले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । भारतमा पनि संक्रमण देखिएपछि छिमेकी देशहरूमा चिन्ता बढाएको छ ।

साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्ट अनुसार यो भाइरस वर्षौं पहिले चराबाट फैलिएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ र अहिले यो भाइरसले चरालाई सङ्क्रमित गर्न सक्दैन ।

अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २००१ मा यो भाइरसको संक्रमण पुष्टि भएको थियो  ।  जसबाट  त्यही बेला नै  यो भाइरसले मानिसमा संक्रमण गर्न सक्ने र सबै उमेरका मानिसलाई सार्न सक्ने अनुमान गरिएको थियो ।

‘बालबालिका सबैभन्दा बढी प्रभावित’ 

यो भाइरसले सबैभन्दा बढी बालबालिका प्रभावित हुन्छन् । साथै, वृद्धवृद्धा, दीर्घरोग भएका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा पनि यसको जोखिम बढी हुन्छ ।

लक्षणहरु

उक्त भाइरसले संक्रमण गरेमा नाकबाट पानी बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, थकान, खोकी लाग्ने, ज्वरो आउने वा चिसो लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन् । संक्रमण जटिल हुँदै गएमा  ब्रोंकाइटिस वा निमोनिया पनि गराउन सक्ने विज्ञहरु बताउँछन ।

संक्रमण कसरी फैलिन्छ ?

यो भाइरस खोकी र हाच्छियुँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र सङ्क्रमित हुन्छ । हात मिलाएर, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि फैलिन सक्ने विज्ञहरु बताउँछन् ।

विज्ञका अनुसार ‘यदि खोक्दा वा हाच्छियुँ गर्दा थुकको कण कुनै सतहमा खसेको छ ।  सतहमा छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ ।’

ध्यान दिनुपर्ने कुरा

भाइरसबाट सङ्क्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेमा त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ । खोक्दा वा हाँच्छ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्नुपर्छ । खोक्दा र हाच्छियुँ गर्दा छुट्टै रुमाल वा तौलिया प्रयोग गर्ने, साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म राम्ररी हात धुनु विज्ञले सुझाए ।

अहिलेसम्म यो भाइरसको लागि न त कुनै विशेष एन्टिभाइरल औषधि बनेको छ न त कुनै खोप नै बनेको छ । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् ।

तर, यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी कुनै पनि रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने विज्ञहरु बताउँछन् ।

चीनबाट यो एचएमपीभी सङ्क्रमणको स्वरूप परिवर्तन भएर आएको हो की हैन भनेर परीक्षण गर्नुपर्छ । कोरोना भाइरसको भेरियन्ट पत्ता लगाए जस्तै नेपालले नै यो स्वरूप परिवर्तन भएको छ कि छैन भनेर पत्ता लगाउन सक्छ । त्यसैले यसबाट आतंकित हुनुभन्दा पनि कति घातक हो भनेर पत्ता लगाउनुपर्ने विज्ञहरुको भनाइ छ ।

समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love