पुष २५ गते,काठमाडौं – करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो ।”धरौटी रकम बुझाए भने उनी आजै रिहा हुने छन्।
आदेशमा के छ?
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले लामिछाने तथा छविलाल जोशीसहित ७ जना प्रतिवादीहरूलाई धरौटी लिइ तारेखमा छाड्ने आदेश भएको जानकारी दिए।
उक्त आदेशपछि सञ्चारकर्मीहरूसँग उनले भने, “यो थुनछेक आदेश मात्र हो। मुद्दा टुङ्गिएको होइन। अदालतले अब मुद्दा अघि बढाउँदा प्रमाण बुझ्ने तथा साक्षीहरूको बकपत्र गर्नेछ।”
“यो थुनछेक आदेशमा चित्त नबुझे प्रतिवादी उच्च अदालतमा पुनरावेदन जान सक्ने अवस्था पनि रहन्छ।”
उनका अनुसार अदालतले लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रहँदा “सहकारीको रकम निजको खातामा आउने र अन्यमा जाने र अन्यसँगको सम्बन्धका आधारमा” उनलाई “कसुरदार रहेनछन् भन्ने मुनासिब कारण नदेखिएको” उल्लेख गरेको छ।
त्यसैका आधारमा “धरौटी लिएर तारेखमा राख्न र धरौटी बुझाउन नसकेमा थुनामा राख्न आदेश भएको” उनले सञ्चारकर्मीहरूलाई बताए।
जोशी र अन्य प्रतिवादीका हकमा पनि उस्तै खालको आदेश भएको जनाइएको छ।
लामिछानेबाहेकका प्रतिवादीमध्ये जोशीसँग ८८ लाख, लीला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १५ लाख, आरती गुरूङ र मीना गुरूङसँग ५/५ लाख तथा कृष्णबहादुर गुरूङसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।
प्रतिक्रिया
अदालतको आदेशप्रति रास्वपा नेताहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले सामाजिक सञ्जालमा लेखेका छन्, “जय होस्।”
विगत ८३ दिनदेखि हिरासतमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै अदालत परिसर बाहिर रास्वपा कार्यकर्ता र समर्थकहरूले खुसीयाली मनाएका छन्।
रास्वपा कार्यकर्ताहरूको भेलामा नेताहरू मनीष झा र हरि ढकाल पनि उपस्थित थिए।
लामिछानेसहित ६३ जनालाई प्रतिवादी बनाइएको सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी मागिएको छ।
गत कात्तिक २ गते काठमाण्डूस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध गत पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
बुधवार थुनछेक बहस सकिएपछि न्यायाधीशले रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसक्रममा लामिछानेले आफूलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन माग गरेको विवरण आएका थिए।
सहकारी संस्थाको बचत अपचलनमा लामिछाने सहित ग्यालेक्सी टेलिभिजनका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ।
अधिकारीहरूका अनुसार पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने, राई र जोशी सहित ६३ जना प्रतिवादी छन्।
लामिछानेलाई फरकफरक कसुरमा छुट्टाछुट्टै सजाय माग गरिएको अधिकारीहरूले बताएका छन्।
अभियोजन पत्रमा सम्पत्ति शुद्धीकरण मामिलामा लामिछानेले २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ गैरकानुनी ढङ्गले आर्जन गरेको दाबी गरिएको छ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क