२०८१ माघ ३ बिहीबार
16 January 2025, Thursday
Menu
 

रवि तत्काल नछुट्ने, धरौटी बुझाए लगत्तै काठमाडौं ल्याइने

रवि तत्काल नछुट्ने, धरौटी बुझाए लगत्तै काठमाडौं ल्याइने

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताए । उनको भनाइ अनुसार रवि तत्कालै छुट्ने छैनन् । ‘भर्खर अदालतको आदेश आएको छ । धराैटी बुझाएर रिहा भएपछि उहाँलाई हामी काठमाडौं पठाउँछौं’ एसपी ओलियाले अनलाइनखबरसँग भने ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । अब उनले ६५ लाख धरौटी तिर्नुपर्नेछ । यदी धरौटी तिर्न नसकेको अवस्थामा भने उनी कारागार चलान हुनेछन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको थियो ।

काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ । आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।अनलाइनखबर

Loading poll ...
Coming Soon
यो खबर पढेर हजुरलाई कस्तो महसुस भयो ?
Spread the love