पुष २७ गते,काठमाडौं – मानव स्वास्थ्यको लागि सागपात निक्कै महत्त्वपूर्ण मानिन्छ । रायोमा पाइन्ने भिटामिन ए, सी र के युक्त तत्वले मानव शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छ भने क्यान्सरको जोखिमलाई पनि यसले कम गर्छ । तर त्यहि सागपातमा अत्याधिक विषादीको मात्रा पाइएको छ ।
सागपातमध्ये रायोको साग नेपालीको भान्छामा निक्कै पाक्छ र स्वादिलो मानेर खाइन्छ पनि । सर्वसाधारणको भान्छादेखि होटेल तथा रेष्टुराको मेनुमा रायो साग सूचीकृत हुन्छ ।
अत्याधिक रुचाइएको रायोको सागमा पछिल्लो समयमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ । सरकारी स्वामित्वको देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल बजारमा नियमित रुपमा हुने परीक्षणको क्रममा पछिल्लो समयमा सबैभन्दा बढी रायो सागमा विषादीको मात्रा पाइएको हो ।
विषादीको आयात दर तथा रसायनिक मलको बिक्री दर बढ्दै गएको छ । विषादीको प्रयोग पनि अत्याधिक देखिएको छ । अमेरिका र युरोपमा प्रतिहेक्टरमा एकसय ४५ ग्राम विषादीको प्रयोग भइरहे पनि नेपाली किसानले प्रतिहेक्टरमा एक हजार ६ सय ५ ग्रामसम्म प्रयोग गर्ने गरेका छन् ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका विज्ञका अनुसार बालीमा विषादीको मात्रा ३५ प्रतिशतसम्म पाइँदा उपभोग गर्न सकिन्छ । विषादी अवशेषको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म पाइँदा केहि दिन पर्खेर मात्रै खान मिल्ने र त्योभन्दा बढी परिमाणमा पाइँदा नष्ट गर्नुपर्ने मापदण्ड सरकारले तय गरेको छ ।
केन्द्रीय कृषि प्रयोगशालाका अनुसार परीक्षणको क्रममा रायो सागमा ३९ देखि ८२ प्रतिशतसम्म विषादीको अवशेष भेटिएको हो।
विषादी छर्केपछि वेटिङ्ग पिरियड (पर्खनुपर्ने अनिवार्य निश्चित समय) नपर्खेर बारीबाट सोझै बजारमा साग लगिएकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको विज्ञहरुले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यान्न तथा तरकारीवालीमा प्रयोगको लागि अनुमति पाएका विषादीको स्वीकार्य सीमा निर्धारण गरेको छ । तर पछिल्लो समय सागमा समेत पाइएको विषादी तोकिएको स्वीकार्य सीमाभन्दा निक्कै बढी परिमाणमा भेटिएको छ ।
कालिमाटी तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका अनुसार कालिमाटी बजारमा पछिल्लो समयमा सबैभन्दा बढी रायो सागमा विषादीको मात्रा पाइएको हो ।
कालिमाटी तरकारी बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा नियमित रुपमा परीक्षण गर्ने क्रममा रायो साग यस्तो अवस्थामा पाइएको हो ।
नेपालमा २७ भन्दा बढी समूहको विषादी प्रतिबन्ध
नेपालमा हालसम्म २७ भन्दा बढी प्रकारको विषादीको आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ । निक्कै घातक मानिएको तीन विषादी पाराक्वाट–पाराक्वाट डाइक्लोराइड, क्लोरोपाईरिफस ,फोरेटको र छफोरेट लगाएत थप २३ भन्दा बढी घातक विषादी लाई नेपालमा आयात, निर्यात, उत्पादन, संश्लेषण, बिक्री, भण्डारण, ओसारपसार र बिक्री बितरण गर्न प्रतिवन्ध लगाइ राजपत्रमा सूचना प्रकाशित गरि सबैलाई सुचित गरिसकेको छ ।
विषादीविज्ञका अनुसार अहिले प्रतिबन्ध लागेको पाराक्वाट–पाराक्वाट डाइक्लोराइड र क्लोरोपाइरिफस निक्कै घातक विषादी हो । यो विषादी पछिल्लो समयमा आत्महत्या गर्नेहरुले प्रयोग गर्न थालेको र वातावरणमा समेत नकारात्मक प्रभाव पार्न थालेकाले प्रतिवन्ध लगाइएको हो ।
प्रतिबन्धित भएका अन्य विषादीहरुमा क्लोरडेन, डिडिटी, डाईअल्ड्रिन, ईन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच सी, फस्फामिडन, अर्गेनोमर्करीक्लोराइड, मिथाइलपाराथिएन, मनोक्रोटोफस, इण्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्वारिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइल, डायकोफोल, कार्वोसल्फान र एलम्यूनियमफोस्फाइड ३ ग्राम टेब्लेट हुन् ।
विषादीयुक्त खाद्यान्न सेवन गर्दा कस्ता समस्या?
विषादीयुक्त खाद्यान्न र तरकारी नियमित रुपमा सेवन गर्दा वा विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा दीर्घकालीन भयावह रोगहरू क्यान्सर, नपुंसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर(कलेजो) बिग्रने, ट्युमर हुने र गर्भवस्था तुहिनेजस्ता समस्याहरू आउन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ ।
सरकारले विषादीको परिमाण घटाउन वा विषादी मुक्त खाद्यान्न, तरकारी र दालजन्य पदार्थ उत्पादन गर्न एकीकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम लागू गरे पनि त्यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसक्दा वर्षेनी १० देखि २० प्रतिशतको दरले विषादीको प्रयोग बढ्दै गएको छ ।
कसरी जोगिने ?
तरकारी वा फलफूलमा विषादी भएको शंका लागेमा सफा पानीमा कम्तिमा चार पटकसम्म राम्ररी धुन केन्द्रले जनाएको छ । सम्भव भएमा मनतातो पानीमा १० मिनेटसम्म तरकारीलाई डुबाएर राख्दा करिब ६० प्रतिशतसम्म यस्ता घातक विषादी बगेर जाने जानकारी विज्ञले दिएका छन् ।
त्यस्तै तरकारीको बोक्रा हटाएर पनि घातक विषादीको प्रभावबाट बच्न सकिन्छ । विषादी भएको जानकारी भएमा त्यस्ता तरकारी दुई तीन दिनसम्म खुला हावा आउने स्थानमा राख्दा पनि विस्तारै विषादीको अवशेष हराएर जान्छ ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क