माघ ५ गते, काठमाण्डौं- इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेसँगै आइतवारबाट त्यो कार्यान्वयनमा आउने बाटो खुलेको छ।
शुक्रवार राती अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो।
यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरेलको सुरक्षा क्याबिनेटले सरकारलाई सिफारिस गरेको थियो।
जसमा सम्झौताले “यस युद्धको उद्देश्य अन्तर्गतको उपलब्धीलाई साथ दिने” उल्लेख गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
दुईजना दक्षिणपन्थी मन्त्रीहरूले सम्झौताको विपक्षमा मतदान गरेका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले जनाएअनुसार सम्झौता अनुमोदन भएसँगै पहिलो बन्धकहरूको रिहाइ निर्धारित योजनाबमोजिम आइतवारबाटै सुरु हुनेछ।
आइतवारबाटै रिहाइ हुन थाल्ने
सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएको इजरेलले जनाएको छ।
हमासनिकट एक स्रोतले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन्।
कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरेको यस सम्झौता अनुसार पहिलो चरण झण्डै छ साता लामो हुनेछ।
जसक्रममा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन्।
त्यसको साटो इजरेली जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू समेत छाडिनेछ। शुक्रवार इजरेलको न्याय मन्त्रालयले पहिलो आदानप्रदानका क्रममा छाडिने ९५ जना प्यालेस्टिनी बन्दीहरूको सूची सार्वजनिक गरेको थियो।
समाचार संस्था एएफपीका अनुसार त्यसमा ६९ जना महिला, १६ जना पुरुष र १० जना बालबालिकाहरू छन्।
दोस्रो र तेस्रो चरणमा के हुन्छ?
युद्धविराम सुरु भएको १६औँ दिनमा दोस्रो चरणका लागि वार्ताहरू सुरु हुनेछन्।
दोस्रो चरणमा बाँकी सबै बन्धकहरू रिहा र गाजाबाट पूर्ण रूपमा इजरेली फौज हुनुपर्ने सम्झौतामा व्यवस्था गरिएको बताइएको छ।
त्यससँगै त्यहाँ “दिगो शान्ति ब्युँताउने” काम सुरु हुने बताइएको छ।
तेस्रो तथा अन्तिम चरणमा गाजा पुनर्निर्माणको कामहरू हुनेछ। त्यसका लागि वर्षौँ लाग्न सक्छ।
उक्त चरणमै त्यहाँ यदि बन्धक बनाइएकाहरूका शवहरू रहेमा त्यो समेत फिर्ता गर्ने कामहरू हुनेछ।
बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।
चुनौती बाँकी
सम्झौताले हमासलाई फाइदा पुर्याउने भन्दै केही मन्त्रीहरूले राजीनामा दिने चेतावनी दिएका थिए।
यसअघि बिहीवार नै सुरक्षा क्याबिनेटको बैठक बस्न तय भए पनि नेतन्याहुले आफ्नो वचनबाट हमास पछि हटिरहेको भन्दै स्थगित गरेका थिए।
तर शुक्रवार बिहान हमासले युद्धविरामसम्बन्धी उत्पन्न अवरोधहरू हटेको बतायो।
“युद्धविराम सम्झौताका शर्तहरू मान्न कब्जाकारीहरूको विफलताका कारण उत्पन्न अवरोधहरू मध्यस्थकर्ताहरूको उदार प्रयासहरूबाट आज बिहानै हल भएको छ,” हमासले एउटा वक्तव्यमा भनेको छ।
अर्कोतर्फ इजरेलमा चरम दक्षिणपन्थी राष्ट्रवादीहरूले जेरुसलेममा प्रदर्शनहरू गरेका छन्। इजरेली रक्षामन्त्रीले वेस्ट ब्याङ्कमा बस्ती बसाल्नेहरूविरुद्ध प्रशासनिक पक्राउ आदेश रद्द गरेका छन्।
बुधवार युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता घोषणा भएयता इजरेली हमलामा एक सय जनाभन्दा बढी प्यालेस्टिनीहरू मारिएका गाजास्थित अधिकारीहरूले बताएका छन्।
इजरेली राष्ट्रपति आइज्याक हर्ट्सोकले सम्झौताको स्वागत गरेका छन्। तर अगाडि चुनौतीहरू रहेको उनले बताएका छन्।
“राज्य र उसका नागरिकबीचको ठूलो वाचा पूरा गर्नेतर्फ यो एउटा महत्त्वपूर्ण कदम हो। यसभन्दा ठूलो नैतिक, मानवीय, यहुदी र इजरेली कर्तव्य अर्को छैन। हामीले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउनैपर्छ,” सामाजिक सञ्जाल एक्समा गरेको एउटा पोस्टमा उनले भनेका छन्।
युद्धविराम कहिलेसम्म
छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा तीनजना इजरेली बन्धकहरू छाडेपछि इजरेलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरेली फौज फिर्ता हुने छ।
यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने छन्। यो सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिने छ।
भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरेल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिने छ।
गाजा युद्धको क्षति
सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।
त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४६,८७६ भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरेली प्रधानमन्त्री नेतन्याहुको दल लिकुड पार्टीकै सदस्यलगायत कतिपय वामपन्थी नेताहरू सङ्घर्षविरामको विपक्षमा उभिएका बेला पछिल्लो सम्झौता भएको हो।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताले बन्धकहरूको रिहाइ, युद्धको अन्त्य, इजरेलको सुरक्षा र प्यालेस्टिनीहरूका लागि मानवीय सहायतामा अभिवृद्धि गराउने बताएका थिए। बीबीसी नेपाली