माघ २५ गते,काठमाडौं – बिहीवार राजधानीको कमलपोखरी नजिकै एउटा म:म पसलमा एलपी ग्यास चुहावट भएको आशङ्का गरिएको घटनामा ११ जना घाइते भएपछि घरघरमा र रेस्टुराँमा खाना पकाउने ग्यास कति सुरक्षित किसिमले प्रयोग हुन्छ भन्ने प्रश्न उठेको छ।
नेपालका सरकारी निकायहरूले सुरक्षित रूपमा ग्यासको प्रयोग गर्नेबारे पर्याप्त अनुगमन गरेका छन् त? कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसबारे चासो राखिरहेका छन्।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ यता विगत पाँच वर्षमा ग्यास सिलिन्डर विस्फोटसँग सम्बन्धित दुर्घटनाका कारण ४४ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते भएका छन्।
गत साउन महिनायता नेपालमा ग्यास चुहावट तथा विस्फोटका १३ वटा घटनामा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
यो आर्थिक वर्षमा रौतहटमा दुई र पर्वतमा दुई जनाले ग्यास चुहावट वा विस्फोटका कारण ज्यान गुमाएका छन्।
नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्य अधिकांश घटना ग्यास चुहावटका कारण भएको पाइएको छ।
“कतिपय घटनाहरूमा सिलिन्डरभन्दा पनि रेगुलेटरका कारण पनि चुहावटको समस्या भएको देखिएको छ,” आचार्य भन्छन्।
गएको आर्थिक वर्ष मात्रै धनुषा, बारा, चितवन, काभ्रे, नुवाकोट र कञ्चनपुरमा गरी नौ व्यक्तिको ग्यास चुहावट तथा विस्फोटका घटनामा परी ज्यान गएको प्रहरीको तथ्याङ्कमा देखिन्छ।
प्रहरीका अनुसार बागमती प्रदेशमा खाना पकाउने ग्याससँग सम्बन्धित दुर्घटनाका घटना सबैभन्दा धेरै भएका छन् भने दोस्रो धेरै यस्ता घटना मधेश प्रदेशमा पाइएका छन्।
‘अपेक्षित तयारी छैन’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रवक्ता डिजन भट्टराई खाना पकाउने ग्यासबाट हुन सक्ने दुर्घटना रोक्ने अपेक्षित तयारी नभएको स्वीकार गर्छन्।
“हाम्रोमा अपेक्षित तयारी पनि छैन। हाम्रो चेतनाको अवस्था र यसको न्यूनीकरणका विधि के हुन् भन्नेबारे पनि अध्ययन भएको देखिँदैन,” भट्टराई भन्छन्।
“ठूलो जनसङ्ख्यामा प्रभाव पर्ने बाढी, पहिरो र भूकम्पजस्ता कुरामा हाम्रो ध्यान धेरै गएको छ। तर पनि हामीले सचेतनामूलक सामग्री सामाजिक सञ्जाल र सञ्चारमाध्यमको सहकार्यमा प्रसार गरिरहेका चाहिँ छौँ।”
तर बीबीसीले हेर्दा प्राधिकरणकै सामाजिक सञ्जालमा यसबारेका जानकारीमूलक सामग्री उल्लेख्य मात्रामा भेटिएनन्।
प्राधिकरणका प्रवक्ता भट्टराई यस्ता घटना न्यूनीकरणका उपायबारे प्राधिकरणले पनि अब अध्ययन गर्ने बताए।
“यस्ता घटना हुनै नदिने र भइसकेपछि के गर्ने भन्ने अहिलेको अवस्थामा आमूल परिवर्तनको खाँचो छ,” भट्टराई भन्छन्।
गुणस्तर विभागले ग्यास सिलिन्डर तथा रेगुलेटरको गुणस्तर नियमन हेर्ने जिम्मेवारी पाएको छ। तर ग्यासका कारण हुने दुर्घटनामा सिलिन्डर जत्तिकै जोखिम निम्त्याउन सक्ने रेगुलेटरको गुणस्तरबारे प्रभावकारी अनुगमन नभएको जानकारहरू बताउँछन्।
जलनको उपचारमा समस्या
कमलपोखरी घटनामा घाइते ११ जनाको कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा औषधोपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त केन्द्रलाई नेपालमा जलनको उपचार हुने सबैभन्दा ठूलो र सुविधा सम्पन्न अस्पताल मानिन्छ। तर जलन पीडितहरूका पक्षमा पैरवी गरिरहेका अभियानकर्मी उज्ज्वलविक्रम थापा नेपालमा जलनको उपचारमा समस्या रहेको बताउँछन्।
दुई वर्षअघि ग्यास चुहावटकै घटनामा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट तत्कालै भारत पुर्याइएको थियो।
जानकारहरूका अनुसार नेपालमा जलनको उपचार हुने सबै अस्पताल काठमाण्डू उपत्यकामा केन्द्रित छन्। कीर्तिपुरको बर्न सेन्टरजस्तै साँखुको सुष्मा कोइराला मेमोरियल अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल र वीर अस्पतालमा पनि जलनको उपचार हुँदै आएको छ।
तर बर्न सेन्टर र सुष्मा कोइराला अस्पताल बाहेकका अस्पतालमा स्थापना भएका जलन उपचार कक्षहरू चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा पूर्ण क्षमतामा सञ्चालनमा नआएको थापा बताउँछन्।
“विशेषज्ञ जनशक्तिको अभावमा भएका उपचार कक्षहरू पनि पूर्ण सञ्चालनमा छैनन्। काठमाण्डूबाहिर त उपचार गर्ने ठाउँ नै छैन,” उनी भन्छन्।
थापाले पनि नेपालमा जलनको पूर्व तयारी फितलो रहेको टिप्पणी गरे।
ग्यास दुर्घटनाबाट कसरी बच्ने
नेपाल आयल नियमले पनि ग्यासका कारण दुर्घटना बढ्दै गएपछि सचेतनाका क्षेत्रमा काम गरिरहेको दाबी गरेको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर ग्यास सिलिन्डर किन्दा नै त्यसको अवस्था र त्यसमा उल्लिखित परीक्षण मिति जाँच गर्न सुझाव दिन्छन्। नेपालमा बिक्री भइरहेका सिलिन्डरको माथिल्लो समाउने भागमा भित्रपट्टि मिति लेखिएको हुन्छ।
अङ्ग्रेजी मितिअनुसार महिना र वर्ष उल्लेख गरिएको त्यस्तो मिति हेरेर मात्र ग्यास किन्नुपर्ने विज्ञहरूको सुझाव छ। त्यस्तो मिति लेख्दा महिनालाई अङ्ग्रेजी अक्षरहरू ए, बी, सी र डीले बुझाइन्छ।
ए भनेको ज्यानुअरी, फेब्रुअरी र मार्च हो भने बीले एप्रिल, मे र जुन महिना, सीले जुलाई, अगस्ट र सेप्टेम्बर अनि डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिना सङ्केत गर्छन्।
उदाहरणका लागि कुनै सिलिन्डरमा ए (२५) लेखिएको छ भने त्यसको अन्तिम म्याद आगामी मार्चसम्म मात्र हुन्छ अर्थात् सन् २०२५ को मार्चसम्म मात्र हुन्छ।
“अर्को हामीले त्यसलाई जोड्ने क्रममा पनि ध्यान दिनुपर्छ। क्याप खोलेपछि रेगुलेटर जोड्दा गन्ध आइरहेको छ वा छैन याद गर्नुपर्छ। साबुन पानी राख्दा फोका देखियो भने त्यो चुहावटको सङ्केत हो,” उनी भन्छन्।
निगमका प्रवक्ता ठाकुर ग्यासलाई सकेसम्म खुला स्थानमा भण्डारण गर्न र घरमा ग्यास भरिएका धेरै वटा सिलिन्डर नराख्न सुझाव दिन्छन्।
“प्रयोग गरेपछि रेगुलेटर बन्द गरेर छोड्ने र घरबाहिर केही दिन निस्कँदा रेगुलेटर नै झिकेर सिलिन्डरमा क्याप लाएर राख्दा थप सुरक्षित हुन्छ,” उनी भन्छन्। विज्ञहरूले ग्यास सिलिन्डरलाई सुताएर प्रयोग गर्दा जोखिम हुन सक्ने चेतावनी दिएका छन्।
“हामीले सिलिन्डर जत्तिकै ध्यान रेगुलेटर र ग्यास चुल्हो किन्दा पनि दिनुपर्छ,” ठाकुर भन्छन्।”गुणस्तर चिह्न भएका यस्ता उपकरण किन्दा जोखिमबाट बच्न सकिन्छ।”नियमले अधिकांश ग्यास दुर्घटना उपभोक्ताको कमजोरीका कारण हुने देखिएको दाबी गरेको छ।
“हामी ग्यास भर्ने उद्योगमा दुर्घटना भएको सुन्दैनौँ घर, पसल वा कार्यालयमा भएको सुन्छौँ भनेपछि हामीमा सचेतनाको कमी छ र सावधानी अपनाउन जरुरी छ,” उनी भन्छन्। बीबीसी नेपाली