फाल्गुन १ गते,काठमाण्डौ-नेपालमा खास गरी पछिल्ला महिनाहरूमा देखिएको लसुनको “अस्वाभाविक आयात”ले आफूहरूलाई आश्चर्यमा पारेको सरकारी अधिकारीहरूले बताएका छन्।
भन्सार विभागका एक निर्देशकका अनुसार अर्बौँ रुपैयाँ बराबरको लसुन आयात भएको देखिएपछि त्यसको कारणबारे हाल अध्ययनसमेत भइरहेको छ।
चालु आर्थिक वर्षको सुरुका छ महिनाको तथ्याङ्क हेर्दा छ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको लसुन नेपाल भित्रिएकोमा लगभग सबै चीनबाट आयात भएको छ। यो भनेको पछिल्लो छ महिनाको अवधिमा नेपालले प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गरेको देखिन्छ।
आयातको अवस्था
भन्सार विभागको वार्षिक तथ्याङ्क हेर्दा नेपालमा लसुन आयातको परिणाम बढ्दो क्रममा रहेको देखिन्छ।
आर्थिक वर्ष २०७६/०७७ मा ३१ करोड ५३ लाख रुपैयाँको लसुन आयात गरेको नेपालले आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब पाँच करोड ९५ लाख रुपैयाँको लसुन भित्र्याएको तथ्याङ्क छ।
विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख रुपैयाँ र २०७९/०८० मा एक अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको लसुन आयात भएको देखिन्छ।
आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँ बराबरको लसुन आयात भएकामा चालु आर्थिक वर्षको पहिलो छ महिनामा चाहिँ उच्च परिमाणमा लसुन भित्र्याइएको विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले बीबीसीलाई बताए।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि पुस मसान्तसम्ममा छ अर्ब १८ करोड ५४ लाख रुपैयाँ बराबरको लसुन नेपालले आयात गरेको विभागको तथ्याङ्क छ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्म पहिलो छ महिनाको अवधिमा ८७ करोड ८९ लाख रुपैयाँ बराबरको लसुन आयात भएको थियो।
त्यससँग तुलना गर्दा चालु आर्थिक वर्षको सुरुका छ महिनामा सात गुणाभन्दा बढी मूल्य बराबरको लसुन नेपालले आयात गरेको देखिन्छ।
सो अवधिमा भने जम्मा नौ लाख २० हजार रुपैयाँ बराबरको लसुन निर्यात भएको तथ्याङ्कले देखाउँछ।
उत्पादनको अवस्था
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा आर्थिक वर्ष २०७९/०८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७३ हजार पाँच सय ६७ टन उत्पादन भएको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७८/०७९ मा नेपालले नौ हजार ९४३ हेक्टर क्षेत्रफलमा खेती गरेकामा ७४ हजार ७६३ टन लसुन उत्पादन भएको देखिन्छ।
आर्थिक वर्ष २०७७/०७८ मा नौ हजार ७८४ हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएकामा ७२ हजार ४९० टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
नेपालमा उत्पादन हुने लसुन चाहिँ देशभित्रै खपत हुने गरेको सरकारी अधिकारी तथा कृषकहरू बताउँछन्।
अधिकारीहरू के भन्छन्
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भन्सार विभागस्थित अधिकारीहरूले नेपालले हालैका महिनाहरूमा आयात गरेको लसुनको मात्रा “स्वाभाविक” नभएको प्रतिक्रिया दिएका छन्।
“पछिल्ला महिनाहरूमा लसुन आयातको मात्रा अस्वाभाविक नै देखिएको छ। त्यसको कारणबारे हामीले अध्ययन गरिरहेका छौँ,” सूचना अधिकारी श्रेष्ठले बीबीसी न्यूज नेपालीसँग भने।
यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयस्थित अधिकारीहरूका अनुसार चीनबाट लसुन आयात गरेर अवैध माध्यमबाट भारत निर्यात गरिएको देखिन्छ।
“छ महिनामा छ अर्ब रुपैयाँभन्दा बढीको लसुन खपत गर्ने हाम्रो अवस्था देखिँदैन। लसुनको अवैध व्यापार भइरहेको जस्तो देखिन्छ,” मन्त्रालयस्थि वरिष्ठ कृषि अर्थविज्ञ एवं सूचना अधिकारी महानन्द जोशीले बीबीसी न्यूज नेपालीसँग भने।
“त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हामीले हेरिरहेका छौँ,” उनले थपे।
भारतीय अधिकारीहरूले पछिल्ला द्विपक्षीय छलफलका क्रममा नेपालबाट चिनियाँ लसुन अवैध रूपमा भारत भित्रिन थालेको प्रवृत्तिबारे चासो राखेका बताइएको छ।
भारतमा उत्पादन कम भएर माग बढेका बेला नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हुन सक्ने भन्सार विभागका निर्देशक श्रेष्ठको आकलन छ।
तर अध्ययन सकेपछि मात्रै लसुन आयातमा देखिएको व्यापक वृद्धिको आधिकारिक कारणबारे केही भन्न सकिने उनी बताउँछन्।
क्वारन्टीनमा कडाइ
बिरुवा क्वारन्टीन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा तोकिएका प्रक्रियाहरू पुर्याएर मात्रै नेपालमा निषेध नगरिएका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात गर्न पाउने व्यवस्था रहेको छ।
तर प्लान्ट क्वारन्टीन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनुमति नलिईकन ब्याङ्कबाट प्रतीतपत्र (एलसी) जारी गराएकै आधारमा आयातकर्ताहरूले लसुन आयात गरेको पाइएको कतिपय अधिकारीहरू बताउँछन्।
उक्त पृष्ठभूमिमा प्लान्ट क्वारन्टीन समितिको बैठकले गत मङ्सिर १७ गते नियमित शत्रुजीवहरूको सूची अद्यावधिक गर्ने निर्णय गरेपश्चात् बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयातमा हाल थप सतर्कता अपनाइएको छ।
“एक-दुई दिनमा हामी एउटा रिमाइन्डर नोटिस पनि जारी गर्दै छौँ। हामीसँग एन्ट्री पर्मिट (अनुमतिपत्र) नलिईकन बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात मान्य हुने छैन। सबै सर्तहरू बुझेर, पूरा गरेर मात्रै आयात गर्नुहोला भनेर भन्न लागेका छौँ,” केन्द्रस्थित वरिष्ठ बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी प्रकाश पौडेलले बीबीसी न्यूज नेपालीसँग भने।
गत ज्यानुअरीमा केन्द्रले लसुन आयातकै हकमा सर्तहरू पूरा नभएको पाइएपछि एउटा अनुमतिपत्र खारेज गरिदिएको पनि उनले बताए।
जानकार के भन्छन्?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका भूतपूर्व सचिव हरि दाहाल पनि लसुन आयातको तथ्याङ्क हेर्दा आफूलाई अस्वाभाविक लागेको बताउँछन्।
“हामीकहाँ परम्परागत रूपमा पहाडमा मानिसहरूले आफैँले उत्पादन गरेका लसुन उपभोग गर्दै आएका छन्। सहरबजारमा चाहिँ किनेर खाने गरिएको देखिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
विगतमा भारतीय अधिकारीहरूले नेपालमा खासै सुपारी उत्पादन नहुने भए पनि यहाँबाट भारत निर्यात हुने गरिएकोप्रति चासो राखेको उनी स्मरण गर्छन्।
“लसुनको हकमा पनि त्यही भएको हो कि,” पूर्वकृषिसचिव दाहालले अगाडि थपे।
यद्यपि सूक्ष्म अध्ययन गरेर मात्रै लसुनको उच्च आयातको कारणबारे यकिन भन्न सकिने उनको तर्क छ। बीबीसी नेपाली