२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

चीन, रूस र इरानले संयुक्त नौसैनिक अभ्यास गर्ने

चीन, रूस र इरानले संयुक्त नौसैनिक अभ्यास गर्ने

बेइजिङ । चीन, रूस र इरानका नौसेनाहरूले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ ।

चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ । विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ ।”

यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ ।

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ ।

“अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ”, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, “युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।” रासस/एएफपी

Share on Social Media