२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल

संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल

संयुक्त राष्ट्रसङ्घ, वैशाख १५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार स्वच्छ ऊर्जा परिवर्तनका लागि आवश्यक खनिजहरूको खरिद र प्रयोगमा निष्पक्षता, दिगोपन र मानव अधिकारलाई एकीकृत गर्ने उद्देश्यले नयाँ पहल सुरु गर्नुभएको छ ।

सरकार, सङ्गठन र राष्ट्रसङ्घीय निकायहरूको विविध समूहलाई एकताबद्ध गर्ने उक्त पहलले ‘क्रिटिकल एनर्जी ट्रान्जिसन मिनरल्स’ मा प्यानलको सुरुआत गर्दछ  । प्यानललाई ऊर्जा सङ्क्रमणमा वातावरणीय र सामाजिक मापदण्डहरू कायम राख्न साझा र स्वैच्छिक सिद्धान्तहरूको सेट विकास गर्ने जिम्मेवारी दिइएको छ ।

महासचिव गुटेरेसले प्यानल लन्चका क्रममा भन्नुभयो, “नवीकरणीय ऊर्जाद्वारा सञ्चालित संसार महत्त्वपूर्ण खनिजहरूको लागि भोको संसार हो ।”

उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ । कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो ।

सौर्य प्यानल, पवन टर्बाइन र विद्युतीय सवारी जस्ता नवीकरणीय ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको माग बढेको छ । यसको उदाहरणका लागि राष्ट्रसङ्घीय व्यापार तथा विकास निकायले उच्च दक्षता ब्याट्री र इलेकट्रोनिक्सका लागि आवश्यक लिथियमको माग १५ हजार प्रतिशतभन्दा बढीले बढ्न सक्ने अनुमान गरेको छ ।

त्यस्ता बढ्दो मागहरूले धेरै विकासशील देशहरूका लागि विशेषगरी अफ्रिकामा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । अफ्रिकाले ऊर्जा सङ्क्रमणका लागि महत्त्वपूर्ण दर्जन धातुहरूको विश्वव्यापी भण्डारको पाँचौँ भाग ओगटेको छ । रासस/सिन्ह्वा

Share on Social Media