२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

तेस्रो पटक कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

तेस्रो पटक कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

वैशाख २७, विराटनगर -नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैलेनै नेतृत्वमा पुर्‍याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

२४ पुस २०७९ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उनी सत्ताबाहिर पुगेथिए ।

त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भएकाथिए । एक पटक सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएकाथिए । दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका सांसदले विश्वासको मत दिएपछि अदालतको आदेशमा पदमुक्त भएकाथिए ।

थापालाई प्रदेशसभाको अध्यक्षता गरेका सांसद मन्सुरीले विश्वासको मत दिएको मुद्दामा सर्वोच्च अदालतले थापा पदमुक्त हुने र ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मत कुमार कार्की मुख्यमन्त्री नियुक्त हुने आदेश दिएको थियो ।
अदालतको आदशेपछि उनी दोस्रो पटक मुख्यमन्त्री हुने अवसर पाए । तर प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए ।

आफूले राजीनामा दिएपछि कार्कीले नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई आफ्ना ३९ सांसदको समर्थन सहित मुख्यमन्त्री बनाएका थिए ।

त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुन: तत्कालिन सत्तारुढ घटक कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरिएको थियो।

२१ फागुनमा केन्द्रमा पुन: एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि २७ वैशाखमा तेस्रो पटक सत्ता नेतृत्वमा पुग्न सफल भएका हुन् ।

अल्पमतमा परेपछि राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा केदार बसेपछि हिक्मतको मुख्यमन्त्री बन्ने समय धकेलिएको थियो ।

केन्द्रमा समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ बैशाखमा विश्वासको मत परीक्षणका लागि संसदबाट संकल्प प्रस्ताव पारित भएको थियो ।

तर केदार कार्कीले विश्वासको मत लिएनन्, राजीनामा पनि दिएनन् । ३० दिन समय कटेपछि बुधबार राति नयाँ सरकार गठन आह्वान भयो । प्रदेश प्रमुखले दुई दिनको समय दिएपनि हिक्मतले बिहीबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेकाथिए। लगत्तै प्रदेश प्रमुखले समर्थकको समर्थनपछि मुख्यमन्त्री नियुक्त गरेकाहुन ।

उता आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठन आह्वान गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।
समाचार ब्युरो
नेपाली मिडिया नेटवर्क

Share on Social Media