२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

बाढीमा परी भारतमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

बाढीमा परी भारतमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

नयाँदिल्ली। भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको अधिकारीले बुधबार बताएका छन् ।

प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीले पीडित महिला र उनका तीन छोरीको पहिचान गरिएको बताउनुभयो । भग्नावशेषबाट तीन वर्षीय बालकको शव पनि निकालिएको छ ।

असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २०९ व्यक्ति प्रभावित भएको जनाएको छ ।

सबैभन्दा बढी प्रभावित जिल्ला करिमगञ्जमा एक लाख ५२ हजार १३३ जना मानिस बाढीले प्रभावित भएका छन् । बाढीले प्रभावित जिल्लाको एक हजार ३७८.६४ हेक्टर बाली उत्पादन क्षेत्रलाई पनि असर पारेको छ ।

“हाल ४७० गाउँ पानीमा डुबेका एएसडिएमएले जनाएको छ । स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र खोलेको छ । जसमध्ये अधिकांश करिमगञ्जमा स्थापना गरिएको छ । अधिकारीले राहत शिविरमा पाँच हजार ११४ जनालाई शरण दिँदै राहत कार्य जारी रहेको बताएका छन् ।

तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षतिको परिमाणले प्रभावित जनसङ्ख्यालाई सहायता प्रदान गर्न कठिनाइहरू बढाएको उनीहरूले बताएका छन् । गत महिना पश्चिम बङ्गाल र बङ्गलादेशको तटमा आएको चक्रवात रेमलपछि भारी वर्षाले गर्दा आसाम र मणिपुर राज्यमा क्षति पुगेको बताइएको छ । रासस

Share on Social Media