२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

नमूना करेसाबारी प्रवर्द्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्ष्यित गरिएको नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । “कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरवासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गर्नुभभयो । “हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, अकबरेलगायत बिरुवा रोप्न सक्छौँ र सजिलोसँग उपभोग गर्न सक्छौँ । किनेर ल्याएको खानेकुरामा विषादी मिसिएको हुनसक्छ, त्यसैले कसेसाबारीको उत्पादन निर्धक्क भएर खान सकिन्छ”, उपप्रमुख कार्कीले भन्नुभयो ।

कृषि विकास शाखाले पाँच वडाबाट ७५ घरी छनोट गरी स्पे्र ट्याङ्की, तरकारीको बीउ, कुहाउने जैविक झोल, बीउ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले राससलाई जानकारी दिनुभयो । रासस

Share on Social Media