२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका

मध्यपूर्वमा सैन्य उपस्थिति बढाउँदै अमेरिका

तेल अवीव, साउन १९ गते । यस हप्ताको सुरुमा तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।

“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिङ्कन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ” पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तिमार्फत बताउनुभयो ।

अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरू मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो ।

“अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ”, सिंहले भन्नुभयो ।

अमेरिकाले पहिले नै यस क्षेत्रमा ‘यूएसएस वास्प एम्फिबियस’ नामक सैन्य जहाज तैनाथ गरेको छ जुन आवश्यकता भएमा आदेशअनुसार लेबनानमा रहेका अमेरिकी नागरिकहरूको उद्धार गर्न सक्षम छ ।

इरानले तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्याको बदलामा इजरायलमाथि आक्रमण गर्ने वाचा गरेसँगै मध्यपूर्वी क्षेत्रमा तनाव बढेको हो ।

इजरायलले भने हानियाको हत्याको बारेमा कुनै टिप्पणी व्यक्त गरेको छैन । रासस/एएनआई

Share on Social Media