२०८२ फाल्गुन ६ बुधबार
18 February 2026, Wednesday
Menu
 

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीचको भेट बार्ता भाडिनुका मुख्य चार कारण

अमेरिकी राष्ट्रपति ट्रम्प र  युक्रेनका राष्ट्रपति जेलेन्स्की बीचको भेट बार्ता भाडिनुका मुख्य चार कारण

फाल्गुन १९ गते, काठमाण्डौ-युद्धग्रस्त युक्रेन र त्यहाँका नागरिकका तर्फबाट शान्ति र सहयोगको याचना लिएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार अमेरिका पुगेका थिए।

अमेरिका र रुसको नजर सुरुदेखि नै युक्रेनको प्राकृतिक खनिजमाथि रहेको र सम्भवतः युद्धको प्रमुख कारण त्यो पनि हो भने बुझिन्छ। लगातार तीन वर्षको युद्धले सर्वस्व गुमाउने स्थितिमा रहेको युक्रेनमा मानवता र शान्ति चाहेका जेलेन्स्कीले युक्रेनको मूल्यवान् युरेनियम खनिज खानीभन्दा आफ्नो राष्ट्र र नागरिकको ज्यानलाई अमूल्य ठाने। र त देशलाई युद्धको मैदानबाट जोगाउनका लागि याचनासहितको सम्झौताका सर्त लिएर ह्वाइटहाउस पुगे।

तर जेलेन्स्कीले सोचे जस्तो वार्ताले सकारात्मक भन्दा नकरात्मक मोड लियो । यस्तो हुनुका मुख्य कारणहरु निम्न छन् ।

१.जेलेन्स्कीको पहिरन पनि ट्रम्पसँगको चर्काचर्कीको कारण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइटहाउसमा भेट हुनासाथ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुराकानीको आरम्भ नै पाहुनाको पोसाकबाट सुरु गरे।

“तपाईँ आज विशेष पोसाकमा हुनुहुन्छ,” जेलेन्स्कीलाई भेट्नासाथ ट्रम्पले भने। अमेरिकी राष्ट्रपतिलाई भेट्न पुगेका जेलेन्स्की युक्रेनी त्रिशूल अङ्कित सैन्य शैलीको कालो स्वेटशर्टमा ओभल अफिस पुगेका थिए।

सन् २०२२ मा आफ्नो देशमा रुसबाट पूर्ण स्तरको आक्रमण सुरु भएदेखि नै जेलेन्स्कीले सुट, टाँक भएका शर्ट र टाई लगाउन छाडेका छन्।

विश्व नेताहरूसँगको महत्त्वपूर्ण बैठकदेखि अमेरिकी कङ्ग्रेसमा सम्बोधनका लागि पुग्दा समेत उनी औपचारिक पोसाकमा देखिएनन्।

रुससँग जारी युद्धको अग्रपङ्क्तिमा लडिरहेका आफ्ना सैनिकहरूप्रति ऐक्यबद्धता दर्शाउन युक्रेनी राष्ट्रपतिले यस्तो पोसाक रोजेको बताउने गरेका छन्।

तर उनको यो पोसाकले युक्रेनलाई अमेरिकाले दिइरहेको सहायताको आलोचना गर्दै आएकाहरूलाई बिच्काएको छ।

शुक्रवार ह्वाइटहाउसको राष्ट्रपतीय कार्यकक्ष अर्थात् ओभल अफिसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको बैठकपछि यो विषयले विश्वको ध्यान तान्यो।

त्यहाँ उपस्थित बीबीसीका संवाददाताका अनुसार एकजना अमेरिकी पत्रकारले जेलेन्स्कीलाई सुट नलगाईकन आएर भेटवार्ता कार्यक्रमको अपमान गरेको प्रश्न गरेपछि त्यहाँको माहौल एकाएक बिग्रिएको थियो।

त्यसको केही समयमा त्यहाँ कृतज्ञता र सम्मानको विषयले प्रवेश पायो र अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपति र उनीहरूका युरोपेली सहयोगी देशका नेताबीच विश्वभरि प्रसारण हुने टेलिभिजन क्यामराहरूकै अगाडी चर्काचर्की भयो।

प्रश्न सोध्ने पत्रकार को थिए

बैठक जब पत्रकारहरूका लागि प्रश्न सोध्न खुला गरियो रिअल अमेरिकाज् भ्वाइस नामको परम्परावादी केबल नेटवर्कका प्रमुख ह्वाइटहाउस संवाददाता ब्रायन ग्लेनले एउटा प्रश्न गरे।

“तपाईँ किन सुट लगाउनु हुन्न?” ग्लेनको प्रश्न थियो। “तपाईँ यो देशको सबैभन्दा उच्च कार्यालयमा हुनुहुन्छ तर तपाईँले यहाँ आउँदा सुट लगाउन मान्नुभएन।”

“तपाईँसँग सुट त छ?” उनी रोकिएनन्। “यो कार्यालयको गरिमा नराखेको भनेर कैयौँ अमेरिकीहरूले तपाईँमाथि समस्या औँल्याएका छन्।”

त्यतिबेलासम्म ट्रम्पसँग कूटनीतिक, मैत्रीपूर्ण कुराकानी गरिरहेका जेलेन्स्की उक्त उत्तेजक प्रश्नपछि चिडिएको र थकित देखिए।

“यो युद्ध सकिएपछि म त्यस्ता पोसाकहरू लगाउँछु,” जेलेन्स्कीले जबाफ दिए। उनले त्यसपछि प्रश्न सोध्ने पत्रकारसँग चिढिए।

“हुनसक्छ तपाइँकोजस्तै लगाउन सक्छु वा त्यो भन्दा पनि राम्रो हुनसक्छ। मलाई थाहा छैन,” उनले भने।

जेलेन्स्कीले त्यसो भन्दा कोठामा हाँसो छायो। उनले फेरी थपे, “सस्तो पनि हुनसक्छ।”

ग्लेनको प्रश्नले विश्व राजनीतिमा लामो समय देखि दबिएको एउटा गुनासोलाई प्रस्फुटन गरिदियो।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सजस्ता नेताहरू अमेरिकाले तीन वर्षदेखि जारी राखेको सैन्य सहयोगप्रति युक्रेनी राष्ट्रपति कृतज्ञ नदेखिएको तर्क गरिरहेका थिए।

प्रश्नकर्ता ट्रम्पकै प्रशंसक थिए

गतवर्ष उनले अमेरिकी पत्रिका पोलिटिकोलाई “ट्रम्पको अमेरिका पहिलो नारामा आफ्नो शत प्रतिशत समर्थन” रहेको बताएका थिए।

उनले ट्रम्पकी प्रखर समर्थक जोर्जाकी सांसद मार्जोरी टेलर ग्रीससँग ‘डेट गरिरहेको’ दाबी गरिएको छ।

ग्लेन ह्वाइटहाउसको ‘प्रेस पुल’का रूपमा उक्त कोठामा पुगेका थिए।

‘प्रेस पुल’मा काम गर्ने पत्रकारहरूले राष्ट्रपतिका औपचारिक कार्यक्रमहरूमा धेरै सञ्चार माध्यमहरूका लागि समाचार सम्प्रेषण गर्छन्।

पत्रकारहरूको सङ्गठनबाट यस्ता पत्रकारहरू छानिएर आउने अभ्यास रहे तापनि ट्रम्प प्रशासनले गतसाता मात्रै “नयाँ आवाजहरूलाई” धेरै स्थान दिने भन्दै ‘प्रेस पुल’मा आफैँ पत्रकारहरू नियुक्त गरेको थियो।

सन् २०२० मा स्थापित रिअल अमेरिकाज् भ्वाइसलाई दक्षिणपन्थी समाचार गृह मानिन्छ।
हालैका वर्षहरूमा देखा परेका कैयौँ ट्रम्प समर्थक च्यानलहरू मध्ये यो पनि एक हो।

जसमा ट्रम्पका पूर्व प्रमुख सल्लाहकार स्टीब ब्यानन, क्लासिक रकरबाट राजनीतिक अभियानकर्मी बनेका टेड नुजेन्ट र कन्जर्भेटिभ टर्निङ प्वाइन्टका संस्थापक चार्ली कर्क लगायत छन्।

ओभल अफिसमा भएको चर्काचर्कीपछि गलेनले अनलाइनमा एक पोस्ट गर्दै लेखेका छन्: “युक्रेनी जनताप्रति मेरो समानुभूति छ।”

उनले तर जेलेन्स्कीले सुट नलगाएका कारण अमेरिकाप्रति उनको “भित्री अनादर” प्रदर्शित गरेको तर्क गरेका छन्।

उनले त्यो आग्रह अस्वीकार गरेपछि उनीमाथि प्रहार भएको थियो।

तर पनि उपराष्ट्रपति जेडी भान्सले रोक्नुअघि नेताहरूको भेट असामान्य बहसमा प्रवेश गर्नु अघि करिब २० मिनेटसम्म दुई जना विश्व नेताहरूले करिब सौहार्दपूर्ण रूपमै प्रश्नहरूको जबाफ दिएका थिए।

भान्सले बारम्बार जेलेन्स्कीलाई “सम्मान”पूर्वक कुराकानी गर्न ध्यानाकर्षण गराएका थिए। युक्रेनका नेताले आफूलाई जेडी भनेर सम्बोधन गर्दा पनि भान्सले “श्री राष्ट्रपति” भनेका थिए।

अन्त्यतिर उनले भने: “ओभल अफिसमा आएर अमेरिकी सञ्चारमाध्यमका अगाडि यो बहसको प्रयास गर्नु तपाईँप्रति अनादर हुनसक्छ।”

त्यसपछि तातेको माहौल केही सेलाएको थियो। दुई देशबीचको सम्बन्ध अत्यन्तै चिसो बिन्दुमा पुगेसँगै सुट नलगाई पुगेका जेलेन्स्कीलाई केही बेरमै ह्वाइटहाउसबाट बाहिर जान भनियो।

२. जेलेन्स्की र भान्स जब आवेशमा आए

आरम्भमा करिब आधा घण्टासम्म सुमधुर वार्ता र औपचारिक कुराकानी भएका थिए।

जब उपराष्ट्रपति भान्सले “कूटनीतिक माध्यमबाट शान्ति र समृद्धिको बाटो खोज्न सकिने र ट्रम्पले त्यही गरिरहेको” बताए त्यही बिन्दुबाट तनाव सुरु भयो।

जेलेन्स्कीले भान्सलाई त्यहीँ रोके। उनले तीन वर्षअघिको पूर्ण स्तरको आक्रमण अघिबाटै रुसबाट भइरहेका आक्रमण र सन् २०१९ को असफल युद्धविरामको सन्दर्भ निकाल्दै पुटिनबारे भने, “उनलाई कसैले रोकेन।”

“तपाईँले कस्तो किसिमको कूटनीतिको कुरा गरिरहनुभएको? भन्न खोज्नुभएको के हो?” उनले भने।

त्यसमा भान्सको जबाफ थियो, “तपाईँको देशमा भइरहेको विनाश अन्त्य गर्ने किसिमको।”

त्यसपछि दुई पक्षबीचको चर्काचर्की देखिने गरी तनावपूर्ण बन्दै गयो। अमेरिकी उपराष्ट्रपतिले जेलेन्स्कीलाई आदरार्थी नभएको र अमेरिकी सञ्चारमाध्यमको अघि परिस्थितिबारे बहस चलाएको आरोप लगाए।

भान्सले पुटिनसँग कुरा गरेर ट्रम्पले युद्ध अन्त्य गराउन अपनाएका शैलीको प्रतिरक्षा गरेका थिए। उनले युक्रेनलाई पनि तत्कालै युद्धविराम गर्न दबाव दिएपछि उनी र युक्रेनका राष्ट्रपतिबीच विवाद भयो।

३. ‘हामी के महसुस गर्छौँ, तपाईँले सिकाउनु पर्दैन’

भान्सले युक्रेनले सामना गरिरहेको सैन्य अभाव र सेनामा भर्ती हुने मानिसहरूको अभावबारे कुरा उठाएपछि जेलेन्स्कीले त्यसमा तत्कालै प्रतिक्रिया दिए।

उनले भने, “युद्धका समयमा सबैलाई समस्या हुन्छ। तपाईँहरूलाई पनि हुन्छ। तर तपाईँहरूसँग राम्रा समुद्रहरू भएका कारण त्यो अहिले महसुस गर्नुहुन्न। तर भविष्यमा महसुस हुन्छ।”

यो प्रतिक्रियाले ट्रम्पलाई आक्रोशित बनाउँछ। यति बेलासम्म जेलेन्स्की र अमेरिकी उपराष्ट्रपतिबीच मात्रै सीमित वादविवादमा अब ट्रम्प पनि मिसिन्छन्।

यहाँ युक्रेनी नेताले युद्धमा आक्रमण गरिरहेका नेतासँग कुरा गरेर ट्रम्पले आफ्नो नैतिक धरातल गुमाएको विषय उठाउन खोजेजस्तो देखिन्छ।

हामीलाई के महसुस गर्छौँ भनेर तपाईँले सिकाउनु पर्दैन। तपाईँ त्यो कुरा थोपर्ने ठाउँमा हुनुहुन्न,” उनले भने। यसो भनिरहँदा ट्रम्पको आवाज चर्को हुँदै गयो।

“तपाईँसँग अहिले कुनै कार्ड छैन,” ट्रम्पले जेलेन्स्कीलाई भने। “तपाईँ दशौँ लाख मानिसको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ।”

४. ‘तपाईँ एक्लो हुनुहुन्न थियो’ : ट्रम्पको जबाफ
कुराकानीको एउटा बिन्दुमा जेलेन्स्कीले “युद्धको आरम्भदेखि नै हामी एक्लै छौँ र पनि हामी आभारी छौँ।”

जेलेन्स्कीको यो भनाइपछि ट्रम्प आवेशमा आउँछन्। उनले युक्रेनमा जारी युद्ध अमेरिकी करदाताहरूमाथिको बोझको रूपमा बारम्बार प्रस्तुत गर्दै आएका छन्।

“तपाईँ एक्लो हुनुहुन्न,” ट्रम्प भन्छन्। “तपाईँ एक्लो हुनुभएको छैन। हामीले तपाईँलाई ती मूर्ख राष्ट्रपतिमार्फत् तीन खर्ब ५० अर्ब खिएका छौँ,” बाइडेन प्रशासनका पालमा युक्रेनलाई अमेरिकाले गरेको सहयोगप्रति सङ्केत गर्दै ट्रम्प भन्छन्।

त्यसबीचमा भान्सले आफ्नो देशको सहयोगप्रति युक्रेनी जेलेन्स्कीले अमेरिकालाई धन्यवाद दिए नदिएको प्रश्न गर्छन्।

उनी त्यतिमा मात्रै रोकिँदैनन् जेलेन्स्कीलाई गत नोभेम्बरमा भएको अमेरिकी निर्वाचनमा विपक्षी (डेमोक्र्याट)हरूलाई भोट मागेको आरोप लगाउँछन्।

अमेरिकी निर्वाचनको केही साताअघि जेलेन्स्कीले जो बाइडनको गृहनगर पेन्सलभानिआ क्षेत्रको एउटा हतियार कारखाना क्षेत्रमा गरेको भ्रमणप्रति भान्सले सङ्केत गरेका थिए।

उक्त भ्रमणप्रति रिपब्लिकनहरू रुष्ट थिए। उनीहरूले दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा भएको राज्यमा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसको चुनावी अभियानमा सहयोग पुर्‍याउन उक्त भ्रमण गरिएको आरोप लगाएका थिए।

“यो तरिकाले काम गर्न धेरै गाह्रो हुन्छ,” ट्रम्प भन्छन्। “यसरी सम्झौता गर्न गाह्रो हुन्छ। मनोवृत्तिमा परिवर्तन जरुरी छ।”

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिले जेलेन्स्कीलाई एउटा बिन्दुमा हप्काउँछन्। उनको मनोवृत्तिका कारण उनीहरू रिसाएजस्तो देखिन्छ।

“मात्र धन्यवाद भन्नूस्,” भान्सले एउटा क्षणमा भन्छन्।

फेरि छलफल युद्धविरामतर्फ मोडिन्छ र ट्रम्पले युद्धविरामका लागि पुनन आग्रह गर्छन्। जसमा जेलेन्स्कीले भन्छन्, “के कुराको सुनिश्चिततामा?”

त्यपछि जेलेन्स्कीलाई ह्वाइटहाउसबाट बाहिर जान भनियो र सम्झौताका लागि तयगरिएको समय रद्द गरियो । बीबीसीको सहयोगमा

Loading poll ...
Share on Social Media